सुचना, समाचार र मनोरन्जन

‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो

काठमाडौं  :

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको बलियो साथ पाउँदै गएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित पोखरा,बुटवल,झापा,चितवान लगायतका स्थानमा राम्रो दर्शक उपस्थिति जनाउँदै सकारात्मक माउथ पब्लिसिटी बनाउन सफल भएको निर्माण पक्षले जनाएको छ।

पहिलो दिनको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भइनसके पनि फिल्मको ओपनिङ औसतभन्दा राम्रो रहेको बताइएको छ । तर ‘पेन्सन पट्टा’का लागि महत्वपूर्ण पक्ष दर्शकबाट प्राप्त भइरहेको सकारात्मक प्रतिक्रिया बनेको छ। सामाजिक सञ्जाल तथा दर्शक प्रतिक्रियामा फिल्मको कथा, प्रस्तुति, अभिनय र सामाजिक विषयवस्तुको प्रशंसा भइरहेको छ।

शुक्रबारको प्रदर्शनपछि शनिबार फिल्मका शोसमेत बढेका छन्। खल्तीमा देखाइएको शो संख्या १०६ बाट बढेर ११३ पुगेको छ । आज शनिवार फिल्ममा दर्शकको साथ उलेख्य वृद्धि हुदैँ गएको छ। दर्शकको मागअनुसार शो वृद्धि हुनु फिल्मप्रति बढिरहेको चासोको संकेत बनेको छ।

पोखरामा पनि फिल्मले पहिलो दिन उत्साहजनक व्यापार गरेको छ। क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै ७ लाख ४८ हजार रुपैयाँ ग्रस कलेक्सन गर्दै १ हजार ९ सय ३० दर्शकलाई हलमा तानेको छ। आज शनिबारका लागि दुवै हलमा राखिएका ५–५ शो हाउसफूल रहेको जनाइएको छ।

फिल्म हेरेका दर्शकले ‘पेन्सन पट्टा’लाई पछिल्लो शुक्रवार प्रदर्शनमा आएका फिल्ममध्ये सशक्त सामाजिक कथामा आधारित हेर्नलायक फिल्मका रूपमा चर्चा गरेका छन्  परिवार र नेपाली समाजसँग प्रत्यक्ष जोडिएको विषयलाई मनोरञ्जनसँगै प्रस्तुत गरिएको भन्दै दर्शकले फिल्मको प्रशंसा गरेका छन्।

शनिबार र आइतबारको बिदासँगै त्यसलगत्तै तीज पर्वसमेत रहेकाले आगामी दिनमा फिल्मले अझ ठूलो दर्शक वर्ग पाउने अपेक्षा निर्माण पक्षको छ । शुक्रबारदेखि फैलिरहेको सकारात्मक माउथ पब्लिसिटीलाई निरन्तरता दिन सके ‘पेन्सन पट्टा’को व्यापार थप बलियो बन्ने सम्भावना देखिएको छ।फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, वल्सन विक्रम राई, पुष्कर गुरुङ, सूरज तमु र माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.