सुचना, समाचार र मनोरन्जन

कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने

काठमाडौं/

साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मामा रहेकाे ‘द क्लिफ’ मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ ।

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्मले खेल्न सक्छन् । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयाे । उहाँका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटर हुनेछ ।

‘द क्लिफ’ ले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, स्वीङ, स्काई साइकलिङ लगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागेको अध्यक्ष कार्कीले बताउनुभयाे।

‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ’, कार्कीले भन्नुभयाे, ‘एक वर्षअघि निर्माण शुरू गरिएको मेगाट्रोल झन्डै दुई हप्तामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ ।’

‘कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ, यहाँ आउने पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकामा निकै खुशी लागेको छ’, उहाँले भन्नुभयाे, ‘यसले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ ।’

Leave A Reply

Your email address will not be published.