काठमाडौँ,
मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रुपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो ।
काठमाडौँमा वर्षातको समयमा पनि नियमित रुपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार खानेपानीमन्त्री प्रदीप यादव सहितको टोली उक्त क्षेत्रमा पुगेर उक्त टयाङ्कीको सफल परिक्षण गरेका थिए ।
परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङ मार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याएर मंगलबारदेखि नियमित रुपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए ।
उनले भने, ‘काठमाडौँमा पानी पथान्तरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार सफल परिक्षण गरिएको थियो, सोही राति त्यहाँबाट पानी पथान्तरण गरेर काठमाडौँमा ल्याएर अहिले आठ करोड लिटर थप पानी वितरण गरिँदैछ ।’
मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रुपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याइ वितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।