सुचना, समाचार र मनोरन्जन

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

काठमाडौँ : गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रुपमा ९ खर्ब ३० अर्ब ८८ करोड ४ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।

 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कूल शेयर लगानी ११६ संस्थानमा ४ खर्ब ४ अर्ब ८१ करोड ४१ लाख ५८ हजार रुपैयाँ रहेको छ । सबैभन्दा बढी शेयर लगानी रहेका संस्था नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् ।

 

त्यस्तै, गत आर्थिक वर्षसम्मको सरकारको कूल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख १० हजार रुपैयाँ रहेको छ । त्यसमध्ये आन्तरिक स्रोतबाट १ खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार रुपैयाँ र वैदेशिक स्रोतबाट ३ खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ । बढी ऋण लगानी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन् ।

 

गत आर्थिक वर्षमा सरकारले साँवा फिर्तातर्फ २ अर्ब ६२ करोड २९ लाख ९४ हजार ६९५ रुपैयाँ र ब्याज असुलीतर्फ ५ अर्ब २९ करोड ४ लाख ३० हजार ३५६ रुपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

 

त्यस्तै, गत आर्थिक वर्षमा मात्र शेयर लगानीतर्फ ५ अर्ब ५२ करोड ६ लाख ३४ हजार ५४९ रुपैयाँ र ऋण लगानीतर्फ ३५ अर्ब ९५ करोड ९७ लाख ८७ हजार ६९८ रुपैयाँ गरी कूल ४१ अर्ब ४८ करोड ४ लाख २२ हजार २४७ रुपैयाँ बराबर लगानी भएको छ ।

 

विभिन्न संस्थान र निकायमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । ऋण तथा शेयर लगानी भएका निकायले समयमा सरकारलाई साँवाब्याज भुक्तानी नगर्दा त्यसको दायित्व क्रमशः बढ्दै गएको देखिन्छ । “आर्थिक वर्ष २०८१/८२ सम्ममा भाका नाघेको साँवा २ खर्ब ५९ अर्ब १९ करोड ९७ लाख ३ हजार १२६ रुपैयाँ र भाका नाघेको ब्याज १ खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार १६९ रुपैयाँ गरी कूल भाका नाघेको रकम ४ खर्ब ८ करोड २० लाख ९९ हजार २९५ रुपैयाँ रहेको छ”, प्रतिवेदनमा भनिएको छ ।

 

भाका नाघेको साँवा ब्याज बढी भएका सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.