
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वरमा ‘रामले बाटो देखाइदेऊ’
- मंसिर ११ अघि नै ‘ककाकिकी’को क्रेज: ५ दिनमा १० लाख पार, ट्रेन्डिङमा तेस्रो
- पूजा शर्मा र अशोक दर्जीलाई ‘सेतो कोट’निर्देशन गर्दै शिवम्
- निरुता र उत्तम अभिनित ‘सारथी’को ट्रेलर सार्वजनिक
- स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल
- लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव भोलि, सभामुख डिपी अर्यालले उद्घाटन गर्ने
- निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि होः गगन थापा
- ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उम्मेदवारी दिने
- रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता
- संविधान र कानुनको व्यवस्था अनुसार निर्वाचन गरौँः प्रचण्ड
मुग्लिन–मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
चितवन,
मुग्लिन–मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो ।
पृथ्वी राजमार्गको नैबिसे(मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा(मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ । उहाँले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए ।
भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो ।
क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ । आयोजनाले एक सूचना जारी गरी राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ ।

मुग्लिन(मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।
नेपालले भन्नुभयो, “करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ । मौसमले साथ दियोभने थप दुई किमी कालोपत्र गर्दैछौँ ।” आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ । धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ ।
“यो खण्डमा दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ”, इञ्जिनीयर दरैले भने। उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ ।
विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(नागढुङ्गा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ ।
शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इञ्जिनीयर दरैले बताए । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका काम भइरहेको छ । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।