सुचना, समाचार र मनोरन्जन

तीन दशकपछि पुनः गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर

म्याग्दी,

रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुटेका छन । गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटकपटक प्रयास गर्दा पनि सफलता नमिलेपछि उनले गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाएका थिए ।

गाउँ छाडेको ३५ वर्षसम्म नवलपरासीमा बसेर जीविकोपार्जन गर्नुभएका पुर्जा विगत चार वर्षदेखि भने आफ्नो जन्मगाउँ काफलडाँडा फर्किएका थिए । गाउँ फर्किएर पुर्जाले आधुनिक कृषि खेतीलाई पेसाका रूपमा अघि बढाएका छन । डेमरकटेरा टोलमा उनको तरकारी खेतीको कृषि फार्म रहेको छ । दुईवटा हाइटेक प्रविधिसहितको तीनवटा टनेलमा गोलभेँडाखेती गरेका पुर्जाले कृषि फार्मबाट आम्दानी गर्न सुरु गरेका छन। टनेलमा स्थानीयस्तरका काठ, निगालो र डोरीको प्रयोग गरी गोलभेँडाखेती गरिएको छ ।

एउटा टनेलबाट वार्षिक चार लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य राख्नुभएका पुर्जाले गोलभेँडाखेतीबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको बताए । ‘‘मैले उत्पादन गरेको गोलभेँडा स्थानीयस्तरका साथै पर्वत बेनी र जिल्ला सदरमुकाम बेनीमा खपत हुने गरेको छ, स्थानीय प्रविधिलाई प्रयोग गरेर गोलभेँडा उत्पादन गर्ने गरेको छु, गाइभैँसी र कुखुराको मल प्रयोग गरेको छु, रोग कीरा लागेमा गाईभैँसीको गहुत र तितेपातीको झोल प्रयोग गर्छु, विषादीको प्रयोग गरेको छैन”, उनले भने ।

कुमार पुर्जा कृषि तथा पशुपन्छी फार्म दर्ता गर्नुभएका पुर्जाले फार्म स्थापना गर्न अहिलेसम्म करिब रु छ लाख लगानी गरिसकेको जानकारी दिनुभयो । लामो समयसम्म नवलपरासीमा घर निर्माणसम्बन्धी काम गरी घरपरिवारको जीविकोपार्जन गर्नुभएका पुर्जाले रोजगारको सिलसिलामा कतारमा २० महिना बसेर फर्कनुभएको थियो भने इराकमा दुईपटकसम्म पुगेर फर्कनुपरेको थियो । श्रीमती, छोराबुहारीलगायत परिवार नवलपरासीमै रहे पनि पुर्जा भने जन्मथलो फर्किएर कृषि खेतीमा रमाउन र कमाउन थालेका छन ।

जीवनमा धेरै दुःख, कष्ट र हण्डर खेप्नुभएका पुर्जाले बाउबाजेको थातथलोमा पसिना बगाएर आत्मनिर्भर बन्ने सपना बुन्नुभएको छ । बिहानदेखि बेलुकीसम्म आफ्नै कृषि फार्ममा व्यस्त हुने पुर्जाले अन्य व्यक्तिहरूलाई समेत अस्थायी रूपमा रोजगारि दिने गर्नुभएको छ । गोलभेँडाखेतीसँगै पुर्जाले काफलडाँडामा परीक्षणको रूपमा स्याउखेती विस्तार गरेका छन ।

करिब पाँच रोपनी जग्गामा कृषिखेती गर्दै आउनुभएका पुर्जाले ७० वटा स्याउका बिरुवा लगाएका छन । यसअघि लगाएका बोटले फल दिएपछि व्यावसायिक रूपमा स्याउको खेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । कृषिलाई व्यावसायिक र व्यवस्थित गर्न पुर्जाले कृषि फार्ममा थोपा सिँचाइको प्रबन्ध गरिएको छ । गत चैत महिनामा लगाएको गोलभेँडा फल्न थालिसकेको छ । तीनवटा टनेलमा पुर्जाले करिब एक हजार पाँच सय गोलभेँडाका बिरुवा लगाएका छन ।

Leave A Reply

Your email address will not be published.