सुचना, समाचार र मनोरन्जन

‘नीरमाया’का निर्देशकले ‘बिगुल’बनाउने,नरेनलाई गरे अनुबन्ध

काठमाडौं :

फिल्म ‘लीला’ र ‘नीरमाया’का निर्देशक रमेश कोइरालाले ‘बिगुल’ निर्माण घोषणा गरेका छन्। उनले फिल्ममा नरेन खड्कालाई अनुबन्ध गर्दै फिल्मको घोषणा गरेका हुन्। निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो।

बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ। अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका खड्का पछिल्लो ‘१२गाउँ’मा देखिएका थिए।

फिल्म ‘हमेशा’बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा आएका हुन्। ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जितिसकेका छन्। अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’ मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ।

निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ। यो फिल्मलाई निर्देशन रमेश कोइरालाले गर्नेछन्। मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन्। एमजीपी ब्यानरमा निर्माण हुने फिल्मको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन्। फिल्मको छायांकन नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्त गरी सुरु गरिने निर्माणपक्षले बताएको छ।

Leave A Reply

Your email address will not be published.