सुचना, समाचार र मनोरन्जन
Pdms

शेयर बजार विश्लेषण गर्ने भन्दै ‘नेप्से एआई’ बाट ठगी, सतर्क रहन आग्रह

काठमाडौँ,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी धेरैभन्दा धेरै नाफा कमाउन सक्ने भन्दै भ्रामक सूचना प्रवाह भइरहेको सीआईबीले जनाएको छ ।

यो एप इन्स्टल गरेपछि रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिनेजस्ता कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

सीआईबीले ‘नेप्से एआई’ लगायतका कुनै पनि अपरिचित लिङ्क तथा एपहरू क्लिक, डाउनलोड तथा इन्स्टल नगर्न आग्रह गरेको छ । एक व्यक्तिले ‘नेप्से एआई’ को प्रयोग गर्दा आफ्ना विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भएको र मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपहरू मेटाएको भन्ने उजुरी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता घटनाबारे थाहा पाउनासाथ सम्बन्धित बैंक, वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा खबर गर्न सीआईबीको आग्रह छ ।

Leave A Reply

Your email address will not be published.