सुचना, समाचार र मनोरन्जन

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन,
अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् ।
क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएका छन् । थपिएसँगै ७० प्रतिशत हाराहारी पुगेको थियो । आज साँझ भने सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको छ ।
उहाँले भन्नुभयो, “९० प्रतिशतभन्दा माथि कोठाहरु पर्यटकले भरिने छन् ।” मौसमका कारण विगत चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन–नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा अझै सोचे जति पर्यटक आउन नसकेको उनी बताउछन ।
जेनजी आन्दोलनपछि निरास बनेका व्यवसायी पछिल्ला दिनहरुमा पर्यटकको आगमन राम्रो भएपछि आशावादी बनेको उनी बताउछन । होटल सङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका सौराहाको जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे नयाँ वर्षसँगै सौराहा भरिभराउ भएको बताए । नयाँ वर्षको अघिल्लो दिन आफ्नो होटल अग्रिम रुपमा भरिने गरेको भन्दै उहाँले रातिसम्ममा सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको बताएका छन । यो समयमा स्वदेशी पर्यटक धेरै आउने गर्दछन् ।
क्षेत्रीय होटल सङ्घ नेपालका पूर्वअध्यक्ष दीपक भट्टराई आफ्नो होटल भरी सकिएको बताए । अहिले ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक भएको उनले बताए। उनले भने, “नयाँ वर्षमा यहाँ खुला र होटलहरुले गर्ने कार्यक्रममा रमाउन पर्यटक आउने गर्दछन् ।”
उनी नयाँ वर्ष मनाउन आउनेको चहलपहल निकै बढेको बताउनहुन्छ । आन्दोलन, सडकको समस्या र जहाज रोकिँदा पर्यटक घट्छन् की भन्ने डर भएको भए पनि अहिलेको अवस्था हेर्दा नयाँ वर्षमा पर्यटकको राम्रो आगमन हुने देखिएको उनी बताउछन । जहाजका कारण आफ्ना पाहुना रोकिएको भन्दै उनले मौसमको चुनौतीका बाबजुत पर्यटक सौराहा आएको बताए । गत वर्षको नयाँ वर्षमा भन्दा यो वर्ष पर्यटक बढ्ने उनको भनाइ छ ।
सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिन थालेका छन् । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटक आउने क्रम बढ्दो छ । साँझ अबेर हुँदै गर्दा सौराहाको बगर क्षेत्र भरिने उनी बताउछन । सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटक नयाँ वर्ष मनाउन आउने गर्दछन् । तेस्रो मुलुकका पर्यटक यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय तथा स्वदेशी पर्यटक धेरै हुने गर्दछन् ।
Leave A Reply

Your email address will not be published.