सुचना, समाचार र मनोरन्जन

पोखरा–जापान उडानका लागि आग्रह

पोखरा महानगरमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयमा समेत छलफल भएको छ ।

पोखरा /

पोखरा महागनरका मेयर धनराज आचार्यले पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहर घोषणा गरिने जनाउँदै त्यसको तयारी भइरहेको जनाएका छन् ।

आचार्यले नेपालीका लागि जापानी राजदूत किकुता युताकालाई पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न आग्रह गरे । पोखरा महानगरमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयमा समेत छलफल भएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग {जाइका} को निमन्त्रणामा आफूले जापान भ्रमण गरेको स्मरण गर्दै मेयर आचार्यले पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माणमा सहकार्य गरिएको उल्लेख गरे । जापानले जाइकामार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनामा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएकोमा मेयर आचार्यले धन्यवाद दिए ।

पोखराको जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै भगिनी सम्बन्ध छ । ‘यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देश बिचमा स्थायी रूपमै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ,’ उनले भने, ‘जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूपमै देखाएको छ ।’ पोखरा खानेपानी सुधार आयोजना अन्तर्गत पोखरा १५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर टंकीको समस्या समाधानका लागि समेत आवश्यक पहल गरिदिन राजदूत किकुतालाई उनले अनुरोध गरे ।

हालसम्म निर्माणमा १४ करोड रुपैयाँ खर्च भएको टंकीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जवाफमा राजदूत किकुताले पानी टंकीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको जनाए । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवाला बिच छलफल तथा समन्वय गर्नुपर्ने उनको जोड छ ।

जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइकामार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाए । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने उनको भनाइ छ ।

राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरण लिएर पोखरा आएका हुन् । बुधवार जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू प्रदान गरे ।

Leave A Reply

Your email address will not be published.