पोखरा/
विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह डी को विजेताका रूपमा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज मङ्गलवार भएको खेलमा आर्मीले कोशीलाई ३९ रनले हरायो ।
आर्मीले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको कोशी १८ ओभर २ बलमा १ सय ४७ रनमा अल आउट भयो । कोशीका सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । यस्तै समिर कार्कीले ३४ र सुजन थपलियाले २१ रन जोडे । बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २ विकेट लिए ।
यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो । आर्मीका भीम सार्कीले सानदार अर्धशतक बनाए । उनी २४ बलमा ५३ रन बनाएर आउट भए । यस्तै सन्तोष कार्कीले ५० र रोहित पौडेलले २३ रन जोडे । बलिङतर्फ कोशीका श्रवण यादवले ३ र कमल खत्रीले २ विकेट लिए।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि समूह ए बाट बाग्मती प्रदेश, समूह बी बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब र समूह सी बाट मधेस सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनल खेल मङ्सिर १४ गते हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल मङ्सिर १५ गते हुनेछ ।