सुचना, समाचार र मनोरन्जन

शीतल कादम्बिनीलाई गीतकार सम्मान, अध्यक्षमा शीतल गिरी

पोखरा /

गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।

गीतकार तीर्थ श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले उनलाई सम्मान गरे । सम्मानित स्रष्टाको परिचय सहसचिव रुपिन्द्र प्रभावीले दिएका थिए । गीतकार सङ्घ, नेपालकी सचिवसमेत रहेकी उनले गीत र गीतकारको हितका लागि जुनसुकै संस्था भए पनि मिलेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखिन् ।

गीतकार तीर्थ श्रेष्ठले गायक र सङ्गीतकारले मात्र गीतको श्रेय लिने परम्पराप्रति असन्तुष्टि जनाउँदै गीतकार आमा भएकाले बिर्सन नहुने धारणा राखे । उनले गीत गाउँदा मात्र गीत हुने नभई गीत लेखन र वाचन गर्दा पनि गीत रहने बताए ।

Chaka Panja

कहाँ थियौ तिमी।।।, झुमा झुम्कावाली।।। लगायत चर्चित गीतका रचनाकार कादम्बिनी गजलकारका रूपमा समेत चर्चित छिन् । उनले नेपाली गीत र गजलका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको सचिव अनुराग अधिकारीले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको साधारण सभामा लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, गण्डकीका अध्यक्ष राजन कार्की, र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमु, अनेसासकी गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा न्यौपानेलगायतले शुभकामना दिएका थिए ।

यसै बिच, दोस्रो अधिवेशनबाट शीतल गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा अनुराग अधिकारी, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष लाल कार्की ‘अञ्जान’, सहसचिवमा बिर्सना बस्नेत तथा सदस्यहरूमा सावित्री गिरी, जीवनमित्र पण्डित, राजाराम पौडेल, रेशम रचक, हरिमाया पराजुली र आदर्श पोखरेल सर्वसम्मत चयन भएका छन् । नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष डिल्लीराम अर्यालको संयोजकत्वमा विक्रम पौडेल र पुष्पराज पौडेल सदस्य रहेको निर्वाचन मण्डलले कार्यसमिति घोषणा गरेको थियो । नवगठित कार्यसमितिका पदाधिकारीलाई लोकगायिका हरिदेवी कोइरालाले शुभकामना दिइन् । प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष गिरीले प्रतिष्ठानका गतिविधिलाई थप उचाइमा पुर्‍याउन नयाँ योजनाहरू अघि बढाइने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.