सुचना, समाचार र मनोरन्जन

संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन्।

माघे संक्रान्ति {मकर संक्रान्ति} तथा माघी पर्वका अवसरमा सोमबार शुभकामना दिँदै उनले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको छ भने।

संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याए।

माघे संक्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

नेपाल भौगोलिक रुपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रूपमा रहेको उनको भनाइ छ।

उनले माघे सङ्क्रान्ति पर्व खस९आर्य, मगर, राई, थारू, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रुपमा रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री दाहालले माघी पर्वले नेपालको सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई प्रमाणित गरेको बताए।

वैशाखे संक्रान्तिबाट सुरू भएका संक्रान्तिमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे संक्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ। तिल, तरुल, घीउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुनःमिलन गर्ने पर्वका रूपमा माघीलाई लिइन्छ।

Leave A Reply

Your email address will not be published.