सुचना, समाचार र मनोरन्जन

आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ नियम

भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ ।

भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो ।

गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी {पासपोर्ट} हुनुपर्ने छ ।

नयाँ कार्यविधिअनुसार भ्रमण र पर्यटकीय भिसामा विदेश जानेहरूका लागि राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले व्यवस्था गरेको कागजात, भ्रमणको खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाणपत्र र फर्किने स्वघोषणको कागजात चाहिनेछ ।

अध्यागमन विभागले घुम्न र परिवार भेट्न विदेश जानेहरूले सेटिङको नाममा बिचौलियालाई पैसा नबुझाउन, भ्रमण र पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित काम नगर्न आग्रह गरेको छ ।

भिजिट र पर्यटक भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने कार्यविधिमा उल्लेख छ । विदेश जानुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राख्न विभागको आग्रह छ ।

Leave A Reply

Your email address will not be published.