काठमाडौँ/
सरकारले वन्यजन्तु पालनमा निजी क्षेत्रको पनि संलग्नतालाई मान्यता दिने गरी मापदण्ड तयार गर्न लागेको छ । पालनबाट वन्यजन्तुको संरक्षण हुने र आर्थिक समृद्धिमा पनि सहयोग पुग्ने अपेक्षाका साथ यसको मापदण्ड तयार गर्न लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मापदण्डको खाका वन मन्त्रालयका सचिव रेवतीरमण पौडेललाई पेश गरिसकेको छ । सचिव हुँदै वनमन्त्री वीरेन्द्रप्रसाद महतोले स्वीकृत गरेपछि वन्यजन्तु पालन तथा व्यवसाय सञ्चालनका लागि बाटो खुल्नेछ । विभागले एक साताभित्र मापदण्ड स्वीकृत हुन सक्ने बताएको छ । कस्तुरी मृग, जरायो, चित्तल, लगुना, रतुवा, नीलगाई र घोड गधा, खरायो, दुम्सी, बँदेल, सरिसर्प ९अजिंगर बाहेक०, मयुर, कालिज, मैना, सुगा, कछुवालगायत वन्यजन्तु अब व्यावसायिक रुपमै पालन गर्न पाइने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमवाली २०३० मा वन्यजन्तुलाई व्यावसायिक रुपमा पालन गर्न सकिने व्यवस्था छ । यही नियमवालीको आधारमा मापदण्ड तयार गर्न लागिएको हो । वन्यजन्तु पाल्न तथा प्रजनन् गराउन अनुमति लिनु पर्नेछ र त्यसका लागि शुल्क पनि तिर्नु पर्नेछ । सबैभन्दा बढी शुल्क कस्तुरी मृगका लागि एक लाख लाग्ने नियमावलीमा उल्लेख छ । इच्छुक व्यक्तिलाई निश्चित शुल्क लिएर बिउ प्राणीसमेत उपलब्ध गराइने छ ।
व्यावसायिक रुपमा वन्यजन्तु पाल्न पाइने भएपछि अवैध चोरीशिकारी बढ्न सक्ने भन्दै आलोचना पनि भइरहेको छ । विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगाना भने अनुमगनमा कडाइ गरेर चोरीशिकारी रोक्ने बताउँछन् । ‘जंगलमा वन्यजन्तुको संख्या बढी हुँदा बासस्थानमा समस्या पनि भएको छ । यसको न्यूनीकरणका लागि पनि वन्यजन्तुको व्यावसायीकरण गर्न जरुरी छ । यो सुरु भएपछि अनुगमनलाई प्रभावकारी बनाउनेछौं,’ उनले भने ।
विभागका प्रवक्ता अजय कार्कीले पनि वन्यजन्तुको संरक्षण, संवद्र्धन र सदुपयोग गरी आयआर्जन गर्दै रोजगारीका अवसर वृद्धि हुने भएकाले पालन व्यवसायलाई अगाडि बढाउन लागिएको बताए । ‘मापदण्ड लागु भएपछि वन्यजन्तु पालन, प्रजनन् तथा अनुसन्धान कार्यनीति २०६० खारेजी हुनेछ । वन्यजन्तु पालन र अनुसन्धान कार्यमा समूह, व्यक्ति एवं संस्थालाई अभिप्रेरित गरिने छ,’ उनले भने, ‘दुर्लभ वन्यजन्तु लगभग सीमित वन क्षेत्रमा मात्र हुने र लोप हुन सक्ने स्थितिमा देखिन्छन् । जनसंख्याको चाप बढिरहेकाले व्यवस्थापन गर्न पनि व्यवसायीकरण गर्न लागिएको हो ।’ प्राकृतिक बासस्थानबाट संकलन गरिएका वा बीउ प्राणीको रुपमा उपलब्ध गराइएका वन्यजन्तु विदेश निकासी पनि गर्न पाइनेछ ।
के पाल्न कति लाग्छ?
कस्तुरी मृग ७५ हजार
जरायो ६० हजार
चित्तल ५० हजार

लगुना ५० हजार
रतुवा ४० हजार
नीलगाई र घोडगधा ६० हजार
खरायो १ हजार
दुम्सी २ हजार
बँदेल १ हजार
सरिसर्प ५ हजार
कछुवा १ हजार
मयुर ५ हजार
कालिज २५ सय