काठमाडौँ/
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुवास नेम्वाङले संविधानसभामा खेलेको भूमिकालाई मुलुकले सधैं स्मरण गरिरहने बताएका छन्।
नेम्वाङको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनले २०६२र६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदमा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका अनुकरणीय रहेको बताए ।
नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनी लेख्छन्, ‘उहाँको सुझबुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुसरणयोग्य छ ।’
नेम्वाङको निधनसँगै नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद गुमाएको उल्लेख गर्दै उनी अगाडि लेख्छन्, ‘राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमानदार नेता गुमाएको छ ।’