सुचना, समाचार र मनोरन्जन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

काठमाडौं /

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन्।

आज बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ । बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयले जनाएको छ।

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ।

यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो। सत्ता साझेदार दल एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको बताएका छन्। यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात जेठ ५ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्छ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन्।

यसै गरी एक स्वतन्त्र प्रदेश सभा सदस्यको पनि मुख्यमन्त्रीलाई समर्थन रहेको छ। नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहे पनि पार्टी अध्यक्ष पक्षधर भनिएका दुई जना प्रदेश सभा सदस्यको मात्रै मुख्यमन्त्रीलाई समर्थन रहेको छ।

मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन नसकेका कारण प्रदेश मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन।

Leave A Reply

Your email address will not be published.