सुचना, समाचार र मनोरन्जन
Sarangi

गाैतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

काठमाडौ/

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी थालेको छ । त्यही तयारी अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो सम्बन्धित निकायसँग छलफल गरेका छन। साथै उनले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि प्रस्ताव तत्कालै ल्याउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिएका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे सरोकारवाला निकायसँग छलफल गरेका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङका अनुसार छलफलमा प्रधानमन्त्रीले दुवै विमानस्थल देशका लागि रणनीतिक महत्त्वका परियोजना भएको भन्दै पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारी निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताएका छन। सरकारको ठूलो लगानी भएको र निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको अवस्थामा ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुको विकल्प नरहेको प्रधानमन्त्रीको भनाइ छ।

काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअर ट्राफिकको समस्या रहेको र यसको उचित समाधान दिनुपर्ने आवश्यकता पनि देखिएको छलफलका क्रममा उठेको छ ।

वैदेशिक रोजगारीमा जाने र अन्य यात्रुलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । त्यसका लागि श्रम स्वीकृति, अध्यागमन, मेडिकललगायत सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गरिनुपर्नेमा प्रचण्डले जोड दिए । सरकारले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा सहुलियत दिन सक्ने पनि उनले बताएका छन ।

छलफलमा पर्यटनमन्त्री तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताए । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मन्त्रालयको तर्फबाट विदेशी विमान कम्पनीसँग छलफल भइरहेको छलफलका क्रममा जानकारी गराइएको छ ।

Leave A Reply

Your email address will not be published.