बाग्लुङ/
बाग्लुङका दश पालिकाले शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सहयोग रकम उपलब्ध गराउने भएका छन् । बाग्लुङका दश पालिकाले एकमुष्ट ३० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएका हुन् । चार नगरपालिकाले तीन लाख ७५ हजार र छ गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाग्लुङ जिल्लाका पालिकाले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बाग्लुङ, जिल्ला रेडक्रस सोसाइटी बाग्लुङ, रोटरी क्लब अफ बाग्लुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताए ।
भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बाग्लुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।