बर्दिया/
कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती शुरू भएको छ । हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताउनुभयो ।
संरक्षण क्षेत्रभित्रै कृष्णसारको वासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती शुरू भएको छ । उहाँले भन्नुभयो, ‘पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ । यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ ।’
वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा कृष्णसारलाई सूचीकृत गरेको छ । पहिलो पटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनःदोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ ।
वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक वासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो ।
कृष्णसारको प्राकृतिक वासस्थान खैरापुरमा दुबो,सिरुलगायत पनि रोपिएको उहाँले बताउनुभयो । कृष्णसारले यस्तो दुबोको टुसा खान मनपराउँछ । कृष्णसारलाई हिउँदमा आहारा सङ्कट पर्ने गर्छ ।
गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संक्षणक्षेत्र कार्यालयको तथ्याङ्क छ ।
कृष्णसारको वासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउनु हुन्छ ।
यथेष्ट आर्थिक अभावका बीच पनि संरक्षणमा चुनौती रहेको छ । हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ ।