सुचना, समाचार र मनोरन्जन

‘दुई थोपा हाँसो’को चौथो संस्करण युएईमा सम्पन्न

 

 

काठमाडौं :  सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा आफ्नो प्रस्तुती दिएको छ।

युएईमा बस्ने नेपाली माझ ‘दुई थोपा हाँसो’ प्रस्तुती दिएको हो। नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो। नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर आवसीय नेपाली संघ युएइको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो।

sfal

युएईका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो। यसैगरी क्लिन्को क्याम्प , सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो। जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो।

कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र पे्रमर्षि, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो। कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बीपी कोइरालाको भूमिका निर्वाह गरेका थिए।

टंक आचार्यले आफ्नो र अध्यक्ष लक्ष्मण गाम्नागेको कविता सुनाएर परदेशिएका नेपालीलाई भावुक  बनाएका थिए। धीरेन्द्र पे्रमर्षिको प्यारोडी गीतले सबैलाई रमाइलो प्रदान गरेको थियो भने सरोज घिमिरेले मन्तव्य दिएका थिए।

राजदूतावासबाट प्रतिनिधित्व गर्दै दिपेन्द्र पौडेल र विकास भट्टराईले नेपालीले ध्यान दिनुपर्ने कुरामा चर्चा गरेका थिए।

नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःखसुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ। युएईमा भने यो चौथो संस्करण हो।

 

Leave A Reply

Your email address will not be published.