सुचना, समाचार र मनोरन्जन

ट्रम्पको भन्सार महसुलका बावजुद भारतको नजर अवसरहरूमा

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार महसुलप्रति भारतले बिहीबार सावधानीपूर्वक प्रतिक्रिया दिएको छ। सरकारले भन्सार महसुल वृद्धिबाट ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको छ।

 

भारतीय सेयर बजार बिहीबार कारोबारको सुरुआतमा घटेको थियो। बेन्चमार्क निफ्टी सूचकाङ्क दिउँसो शून्य दशमलव तीन प्रतिशतभन्दा बढी घटेर कारोबार भइरहेको थियो।

 

बुधबार ह्वाइट हाउसमा भन्सार महसुलको घोषणा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक ‘महान मित्र’ भएको तर उनले ‘हामीलाई सही व्यवहार’ नगरेकाे बताए।

 

भारतको वाणिज्य विभागले बिहीबार ‘विभिन्न उपायको प्रभावलाई सावधानीपूर्वक परीक्षण गरिरहेको’ बताएको छ। विभागले एक विज्ञप्तिमा भनेको छ, “विभागले यस नयाँ विकासका कारण उत्पन्न हुनसक्ने अवसरहरू अध्ययन गरिरहेको छ।” यो क्षेत्रीय प्रतिस्पर्धी अझ बढी प्रभावित हुने सम्भावित सन्दर्भ हो।

 

ह्वाइट हाउसको प्रारम्भिक चार्टले भारतलाई २६ प्रतिशत भन्सार शुल्कमा सूचीबद्ध गरेको थियो तर नयाँदिल्लीले उल्लेख गरेअनुसार भन्सार शुल्क २७ प्रतिशत रहेको छ।

 

भारतीय निर्यातकहरूले उनीहरू समान मात्रामा निराश र राहत महसुस गरेको बताएका छन्। “भारतमा लगाइएको भन्सार निश्चित रूपमा उच्च र अपेक्षाभन्दा बढी छ, जसले हाम्रो निर्यातको मागमा असर गर्नेछ”, भारतीय निर्यात सङ्गठन महासङ्घका महानिर्देशक अजय सहायले भने।

 

तर उनले भारतमा उत्पादन प्रतिद्वन्द्वीहरूभन्दा कम भन्सार शुल्क लगाइएको पनि बताए। “चीन, इन्डोनेसिया र भियतनाम लगायत विश्वव्यापी रूपमा हामीसँग प्रतिस्पर्धा गर्ने धेरै देश हामीभन्दा बढी प्रभावित भएका छन्”, उनले भने, “यसले हामीलाई बजार हिस्साका सन्दर्भमा लाभ उठाउन ठाउँ खोल्छ। तर एकै समयमा, यदि धेरै देशले बदला लिन्छन् र विश्वव्यापी व्यापारमा असर पर्छ भने यो कसैका लागि राम्रो होइन।”

 

प्रतिस्पर्धात्मक लाभ –

 

सन् २०२४ को आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकामा आठ अर्ब डलरभन्दा बढी निर्यात गर्ने भारतीय उद्योगलाई राहत प्रदान गर्दै औषधि सामानहरूलाई पारस्परिक शुल्कबाट छुट दिइने ह्वाइट हाउसको तथ्य पत्रले जनाएको छ।

 

इन्डियन फर्मास्युटिकल एलायन्सका महासचिव सुदर्शन जैनले ‘जनस्वास्थ्य, आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षामा लागत प्रभावी, जीवन रक्षक जेनेरिक औषधिको महत्त्वपूर्ण भूमिका’ देखाएको बताए।

 

नयाँदिल्ली वासिङ्टनसँग द्विपक्षीय व्यापार सम्झौताको पहिलो चरणको वार्ता गर्ने प्रक्रियामा पनि छ। ट्रम्पको ‘मुक्ति दिवस’ को घोषणाका क्रममा भारतले उच्चस्तरको मोटरसाइकल र ह्विस्की लगायत केही उत्पादनमा कर कटौती गरेर वासिङ्टनसँग व्यापारिक तनाव कम गर्न खोजेको थियो।

 

भारतको भविष्यको नीतिगत प्रतिक्रियाले चीनको अर्को कदमलाई पनि ध्यानमा राख्नुपर्ने विशेषज्ञहरूको भनाइ छ। “भारतको तुलनामा एसियामा बढी भन्सार शुल्क लगाइएको छ”, एम्के ग्लोबल फाइनान्सियल सर्भिसेसकी प्रमुख अर्थशास्त्री माधवी अरोराले भने, “भारतका लागि, विश्वरएसियाली बजारहरूमा उद्योगिक क्षमता र डम्पिङको अतिरिक्त बीच, चीनको भारी भन्सार प्रहारको बचाउ प्रतिक्रिया महत्त्वपूर्ण हुनेछ।”

 

नयाँदिल्लीस्थित थिङ्क ट्यााङ्क ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले भन्सार हलचलले ‘भारतलाई विश्वव्यापी व्यापार र उत्पादनमा आफ्नो स्थिति बलियो बनाउने अवसर प्रस्तुत गरेको’ बताएको छ।

 

इनिसिएटिभले चिनियाँ र बङ्गलादेशी प्रतिद्वन्द्वीहरू उच्च भन्सारबाट प्रभावित भएको कपडा र पोशाकलाई प्रकाश पार्दै भारतलाई केही प्रमुख क्षेत्रमा ‘प्रतिस्पर्धात्मक फाइदा’ दिइएको बताएको छ।

Leave A Reply

Your email address will not be published.