बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ ।
अवामी लिग बङ्गलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।
सतहत्तर वर्षीया हसिना भारतमा स्व–निर्वासनमा छिन् र मानवता विरुद्धको अपराधको आरोपमा ढाकाबाट गिरफ्तारी वारेन्टको अवहेलना गरेकी छिन् ।
बङ्गलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए ।