सुचना, समाचार र मनोरन्जन

चितवनमा दुर्घटनामा वृद्धि :गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

 

चितवन : गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। यो अवधिमा २१ पुरुष, ६ जना महिला र २ जना बालबालिकाको मृत्यु भएको हो।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका २२४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो। यस्तै ती दुर्घटनामा परी ४५६ जना घाइते भएका छन्। यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन थिए।

 

उनका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका थिए। तीमध्ये २०१ मोटरसाइकल थिए। यस्तै जीप, कार ३४, शारीरिक शक्तिले चल्ने ३० , ट्रक, ट्याङ्कर २४, बस १५, टेम्पो १४ थिए। यस्तै टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार थिए।

 

गत आवको सोही अवधिमा २०५ वटा सवारी दुर्घटना भएको थियो। गत वर्षको तुलनामा यो वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भयो। गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने ४१४ जना घाइते भएका थिए।

 

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम भइरहेको थापाले बताए। फराकिला सडकमा तीव्र गतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अहिले दुर्घटना बढेको उनले बताए। सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उनले जानकारी दिए।

 

 

 

Leave A Reply

Your email address will not be published.