सुचना, समाचार र मनोरन्जन

टीकापुर उद्यानमा एकैदिन १० हजार पर्यटक

कैलाली/

कैलालीको टीकापुर उद्यानमा एकैदिन १० हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् । शनिवार हिजो १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका हुन् । उद्यानमा दशैँ तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन ।

शनिवार पर्यटकबाट तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । उद्यानमा यही मङ्सिर १ गते एक लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । उद्यान दशैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ । पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोसाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ । उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिवार भित्रिएका बताए । दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिवार भने १० हजार भित्रिए, उनी भन्छन, वनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ ।

इञ्चार्ज कुँवर उद्यान किनारमा रहेको कर्णाली नदीमा र्‍याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताए । उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन । उनी भन्छन, सुदूरपश्चिम घुम्न निस्केका पर्यटक उद्यान पुगेरै फर्किन्छन् ।

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ । उद्यान ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । उद्यानभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमीरबेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन् ।

चितवनबाट घुम्न टीकापुर पुग्नुभएका शिक्षक सुरेन्द्र अधिकारी उद्यानमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने बताउछन । घुम्न निस्किएका थियौँ, घोडाघोडी ताल घुमेपछि साथीहरुले उद्यान पनि घुमौँ भने, अनी यहाँ आयौ, उनी भन्नुहुन्छ, यहाँ त स्वर्ग जस्तै रहेछ । पूर्वाधार थप्न सकेको भए उद्यान थप रमणीय बनाउन सकिन्थ्यो ।

यस्तै सुर्खेतका सन्दीप ओली उद्यानसँग भएको जमिनको सदुपयोग गर्न लगानी गर्नुपर्ने बताए । यहाँ बालबालिका र ज्येष्ठ नागरिक रमाउने खालका पूर्वाधार बनाउन आवश्यक छ, उनले भने, उद्यानभित्र पनि आम्दानी हुने खालका संरचना निर्माण गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.