सुनसरी : वराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन ।
विदेशबाट फर्केर व्यावसायिक कृषि पेसामा लागेका उनलाई यति बेला भने पैसा र प्रसन्नता दुवै प्राप्त भएको छ । उनले यसअघि आफ्नै चार बिघा जग्गामा तरकारी, धान र मकै खेती गर्दै आएका थिए । तर अहिले सप्तकोसी नदीको कटानले खेतीयोग्य जमिन बगाएपछि अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् ।
महतोले अहिले करिब १० कट्ठा जग्गा भाडामा लिएर गोलभेँडा, बोडी, साग, भिण्डीलगायत मौसमी तरकारी खेती गरेका छन् । त्यसमध्ये आठ कट्ठामा मल्चिङ प्रविधिबाट टमाटरखेती गरेका छन् । बाँकी जग्गामा विभिन्न मौसमी तरकारी लगाएको उनले बताए ।
“पहिला करिब चार बिघा जग्गा थियो । सबै सप्तकोसी नदीले कटान गरेर लग्यो । अहिले आफ्नो जग्गा छैन, अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरेको छु”, उनले भने, “अहिले खेतीमा आफैँ काम गर्छु, श्रीमतीले पनि सहयोग गर्छिन् । मुख्य सिजनमा आवश्यकता परे मजदुर ल्याउँछु ।”
बीउ, मल, औषधि, मजदुरीमा वार्षिक रु दुई लाखसम्म खर्च हुने गरेको छ । खर्च कटाएर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । “यही आम्दानीले घरपरिवार धानेको छु”, उनले भने ।

खेतीबाट भएको आम्दानीले घरपरिवारको खर्चसँगै तीन छोराछोरीको दैनिक पढाइ खर्च तथा अन्य आवश्यकता पूरा गर्दै आएको उनले बताए । उत्पादित तरकारी बिक्रीका लागि बजारको समस्या छैन । धनकुटा, धरान, उदयपुर, इनरुवालगायतका ठाउँबाट व्यापारी खेतबारीमै आउने र उत्पादित टमाटर तथा अन्य तरकारी खरिद गरेर लैजाने गरेका छन् ।
गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि महतोले अन्य तरकारीभन्दा त्यसलाई प्राथमिकता दिनुएको छ । टमाटरको मूल्य सिजनअनुसार फरक हुने भएकाले यसबाट राम्रो आम्दानी हुने उनले बताए ।
खेतबारीबाटै प्रतिकिलो रु ४० मा बिक्री हुन्छ कात्तिक–मङ्सिरमा राम्रो मूल्य पाएका बेला रु ८० देखि ८५ सम्म गोलभेँडा बिक्री हुने गरेको उनको भनाइ छ । “पहिला बारी धेरै हुँदा तरकारी खेतीसँगै गाईभैँसी पनि थिए । कोशी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि आवश्यक चरनस्थल छैन । अहिले गाईभैँसी पाल्न पनि छाडियो”, महतोले भने, “अहिले तरकारीसँगै धान र मकै खेती गरेर जीविकोपार्जन गरिरहेको छु ।”
बर्सेनि सप्तकोशीले कटान गरिरहेको छ । अहिले बसिरहेको यो सानो बास र टिनले बारेर बनाएको कटेरो घर पनि कुन दिन बगाएर लैजाला भन्ने डर छ उनलाई । “आफ्नै जग्गा भएको भए तरकारीखेतीबाटै राम्रो आम्दानी गर्न सकिन्थ्यो अहिले खेती गर्न आफ्नो जमिन छैन”, उनले दुःखेसो गरे ।
बर्खा सुरु भएपछि श्रीलङ्का टप्पुका बासिन्दाले बाढी र कटानको त्रास बर्सेनि भोग्दै आएका छन् । बर्सेनि खेतीयोग्य जमिन साँघुरिँदै जानु, घरनजिकै नदी आइपुग्नु र आवश्यक पर्दा बस्ती नै छाडेर हिँड्नुपर्ने अवस्था दोहोरिँदा यहाँका नागरिकका लागि बर्खायाम चिन्ताको विषय बन्ने गरेको छ ।
खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि प्रत्येक वर्ष बर्खामा बाढी र कटानले सबै मिहिनेत बगाइदेला कि भन्ने चिन्ताले सताउने गरेको महतो बताउँछन् । करिब तीन हजार जनसङ्ख्या रहेको श्रीलङ्का टप्पुमा अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ । धान, मकै, गोलभेँडा र अन्य तरकारी खेती, पशुपालन र दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रका मुख्य आधार हुन् ।