सुदूरपश्चिम : भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् । प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको अभिलेखअनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन् भने एक जनाको मृत्यु भएको छ ।

गत भदौ १० को बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए । पछि ७१ जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख जनक धामीले जानकारी दिए ।
हालसम्म सम्पर्कमा आएकामध्ये ११ महिला र ६० पुरुष र सम्पर्कविहीन भएकामा १३ महिला र १३० पुरुष रहेका उनले जानकारी दिए । जिल्लागत विवरणअनुसार कैलालीका सबैभन्दा धेरै ६७ जना सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन र सम्पर्कमा आएकामध्ये क्रमशः कञ्चनपुरका २६ र ११, डडेल्धुराका १७ र छ, डोटीका दुई र एक जना छन् । यस्तै, बाजुराका १६ जना, बैतडीका सात, दार्चुलाका चार, बझाङका दुई र अछामका दुई जना अझै सम्पर्कविहीन छन् । बैतडीका एक जनाको मृत्यु भएको र शव बुझी अन्त्येष्टि गरिसकिएको आपत्कालीन कार्य सञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ ।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपत्कालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए । सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्रमार्फत आग्रह गरिरहेका छन् ।