काठमाडौं :
व्यवसायिक मेकअप कलाकार निलम पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेकी छन्। गत शनिबार बिहान सगरमाथाको चुचुरोमा पुगेकी पौडेल मंगलबार बिहान काठमाडौं फर्किएकी हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। लामो समयदेखि नेपाली फिल्म, संगीत र फेसन क्षेत्रमा व्यावसायिक मेकअप आर्टिस्टको रूपमा सक्रिय पौडेलको यो सफलतालाई सीमान्तकृत समुदायको ठूलो जितका रूपमा हेरिएको छ।
नीलहिरा समाजद्वारा गौरव व्यक्त
यसैबीच, लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको हकअधिकारका लागि कार्यरत संस्था नीलहिरा समाजले पौडेलको यो ऐतिहासिक सफलताप्रति गौरव व्यक्त गरेको छ। निलमको यस साहसिक कदमले सगरमाथालाई केवल पर्वतारोहणको क्षेत्रमा मात्र सीमित नराखी विविधता, साहस र खुलापनका साथ जीवन जिउने विश्वव्यापी प्रतीकको रूपमा नयाँ अर्थ दिएको नीलहिरा समाजले जनाएको छ।