सुचना, समाचार र मनोरन्जन

एक दशकपछि निर्देशनमा नीर शाह, ‘कमला मिस’को छायांकन सुरु

काठमाडौं :

नेपाली चलचित्रका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह (नीर शाह) एक दशकपछि निर्देशनमा फर्किएका छन्। मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’ को शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो।

मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको यस चलचित्रमार्फत नीर शाहले पुनः निर्देशनमा सक्रियता जनाएका हुन्। फिल्ममा नीर शाह स्वयंको अभिनय रहनेछ। साथै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकका रूपमा सागर बोहरा कार्यरत छन्।

विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्। चलचित्रको कथा विजय मल्लको हो। पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

प्राविधिक टिममा छायांकन शिवराम श्रेष्ठ, संगीत युग भुसाल र कोरियोग्राफी रामजी लामिछानेले सम्हाल्नेछन्। निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुबेदीले लिएका छन्। नीर शाहले वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित चलचित्र परिवर्तनबाट अभिनय यात्रा सुरु गरेका थिए। उनले निर्देशन गरेका चर्चित चलचित्रमा वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसानसेतोबाघ पर्दछन्। अभिनयतर्फ उनले करिब तीन सयभन्दा बढी चलचित्रमा योगदान दिएका छन्।

उनले अभिनय गरेको पछिल्लो चलचित्र परानले बक्स अफिसमा करिब १८ करोड रुपैयाँ कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो। ‘कमला मिस’ मार्फत नीर शाहले नेपाली दर्शकमाझ गहिरो वैचारिक संवाद स्थापित गर्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.