पोखरा,
नवौं प्रधानमन्त्री कप–एन.भी.ए महिला तथा पुरुष भलिबल लिग–२०८२ को तयारी भव्य रुपमा भैरहेको छ । यही जेठ ८ गतेदेखि १८ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा हुने खेललाई व्यवसायीकरण र युवापिढीहरुको भलिबल खेलप्रति रुची बढदै गरेकोमा थप उत्साह थप्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भलिबल प्रतियोगितामा पुरुष तर्फ हेल्प नेपाल क्लव, नेपाल ए.पि.एफ, क्लव, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लव, बुटवलको सहभागिता रहनेछ भने महिला तर्फ नेपाल पुलिस क्लव, नेपाल ए.पि.एफ क्लव, न्यू डायमण्ड यूथ स्पोर्टस क्लव,त्रिभुवन आर्मी क्लव, एभरेष्ट भलिबल क्लव, र कणाली प्रदेश भलिबल टिम गरी कुल १४ टिम सहभागी हुनेछन । जसमा ६ महिला र ८ पुरुष टिमबीच प्रतिस्प्रधा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ८ लाख, द्वितिय हुने टिमले नगद रु ४ लाख र तृतिय स्थान हासिल गर्ने टिमले नगद रु २ लाख प्राप्त गर्नेछन । त्यस्तै सर्वोत्कृष्ट खेलाडी (महिला,पुरुष) तर्फ नै नगद रु ५० हजार नगद प्रदान गरिनेछ । उत्कृष्ट लिब्रो, सरभर,ब्लकर,लिफ्टर,स्पाइकर र टिम प्रशिक्षकले जनही २५÷२५ हजार प्राप्त गर्नेछन ।

पोखरामा भलिबल खेलको लोकप्रियता, माया र सदभाव एंव खेल पर्यटनको दृष्टिकोणले पनि गण्डकी प्रदेशमा पहिलोपटक उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए । त्यस्तै उनले नेपाल भलिबल खेलको अहिलेसम्मकै ठुलो पुरस्कार राशीको प्रतियोगिता आयोजना गर्न लागिएको बताए । संघले प्रतियोगिताको क्रममा कुनै दुर्घटना भएमा दुर्घटना बिमाको समेत व्यवस्था गरेको छ ।