आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा नेपालले आज राति घरेलु टोली ओमानसँग खेल्दैछ ।
नेपाल र ओमानसबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे अल अमिरात क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेल जित्ने टोली आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा छनोट हुने छ ।
सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।
यद्दपि आज भएको पहिलो खेलमा कतारले जापानलाई हराएसँगै नेपाल र ओमानले एकअर्कासँग खेल्नुअघि नै टी–२० विश्वकपमा पुग्ने समीकरण बनेको छ ।
सुपर–सिक्समा अहिले संयुक्त अरब इरिमेट्स (यूएई) र सामोआबीच खेल भइरहेको छ । यो खेल यूएईले जितेमा नेपाल र ओमान आफ्ना २ खेलअघि नै विश्वकपमा पुग्नेछन् । यूएईले सामोआलाई हराएमा एक टोलीले मात्र ६ अङ्क जोड्ने सम्भावना हुन्छ । सुपर–सिक्सबाट शीर्ष ३ टोली विश्वकपमा छनोट हुनेछन्।
सुपर–सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो । नेपालले सुपर–सिक्सको अन्तिम खेलमा पर्सि शुक्रवार सामोआसँग खेल्नेछ ।