सुचना, समाचार र मनोरन्जन

विदेशी विश्वविद्यालयका प्रतिनिधिलाई सिधै भेट्न इक्यान फेयर: अध्यक्ष गैह्रे(अन्तरवार्ता)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौ २० र २१ (शुक्रबार र शनिबार) पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्दैछ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिको प्रस्तुतिमा हुने फेयर पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा हुँदैछ ।

लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न गइरहेको छ । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६५ स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । यसै सन्दर्भमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेसँग गरिएको कुराकानी:

लामो समयपछि पोखरामा इक्यान एजुकेसन फेयर हुँदैछ । यो आयोजना गर्नुपर्ने मुख्य कारण के हो ?
यो खासमा विगत तीन वर्षदेखि शिक्षा मन्त्रालयबाट विभिन्न कारणवश यो इक्यान कास्कीको शैक्षिक मेला हुन सकेको थिएन । यो तीन वर्षपछिको शैक्षिक मेला हामीले खास गरी एउटा शैक्षिक अभियानको रूपमा लिएका छौँ । यो गण्डकी प्रदेशकै ठूलो मेला पनि हो । यसबाट अभिभावक र विद्यार्थी वर्गमा सचेतना ल्याउनका लागि नै यो मेला मुख्य रूपमा आयोजना गरिएको हो भन्न सक्छौं ।

गण्डकी प्रदेशको ठूलो शैक्षिक मेला भन्नुभयो, यसले विद्यार्थीलाई र अभिभावकलाई कसरी फाइदा पुग्छ ?
यसमा हामी बिल्कुलै शिक्षा मन्त्रालयअन्तर्गत रहेर अधिकारिक संस्थाहरूबाट मात्रै यहाँ स्टलहरूमा परामर्श प्रदान हुन्छ । अर्को कुरा भनेको विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूले सिधै विद्यार्थीलाई सचेतना, छात्रवृत्तिको कुरा, विश्वविद्यालय र कोर्सका कुरा, त्यहाँको वातावरण, संस्कृतिका कुराहरू सिधै जानकारी दिने हुँदाखेरि विद्यार्थीलाई फाइदा हुनेछ ।

जस्तो, त्यही कुरा अरू बेला कन्सल्टेन्सीमा पुगेर बुझ्दा र मेलामा आउँदा के फरक हुन्छ ?
अरू बेला कन्सल्टेन्सीमा जाँदा सधैँभरि विश्वविद्यालयका प्रतिनिधिहरू आउनु पनि हुँदैन । उहाँहरूको एउटा समय हुन्छ । अर्को कुरा भनेको यहाँ विभिन्न विकल्पहरू हुन्छन् । जस्तै, ५०–६० वटा स्टलबाट ५०–६० वटा आधिकारिक संस्थाबाट यहाँ विभिन्न खालका विश्वविद्यालयका, त्यहीअनुसारका प्रतिनिधिहरू, त्यहीअनुसारका देशका कुराहरू जस्तो अब अंग्रेजी बोल्ने देशहरूदेखि लिएर युरोप, जापान यी देशहरूका पनि सिधै प्रतिनिधिहरूबाट सबै देशको विषयमा एकै ठाउँमा जानकारी पाउन सकिने भएको कारणले गर्दाखेरि पनि यो उपयुक्त हो जस्तो लाग्छ ।

मेला आयोजनामा पहिलाको अनुभव पनि छ । पहिलाको अनुभवलाई हेरेर अहिलेको मेलामा कुन–कुन क्षेत्रबाट कति संख्यामा विद्यार्थीका सहभागिता हुने अनुमान गर्नुृभएको छ ?
अब हामी मेलाको सँघारमा छौं । भोलि शुक्रवारबाटै मेला सुरु हुँदै छ । हामीले गरेको मुख्य कुरा, हामीले गरेको जुन प्रचार–प्रसार र सचेतनाका कुराहरू, हामीले गर्नुपर्ने ठाउँहरू, विद्यालय, कलेज, विश्वविद्यालयमा गरेका कुराहरू र सचेतना पु¥याउन सकेको हिसाबले गर्दाखेरि हामी त ५ हजारको अपेक्षामा छौं । विगत तीन वर्षदेखि रोकिएको मेला थियो र अहिले सुरु भइरहेको हो । त्यसले गर्दाखेरि गण्डकी प्रदेशका विभिन्न ठाउँबाट विद्यार्थीहरू आउनुहुन्छ र त्यसले गर्दाखेरि पनि हामी दुई दिनको समयमा ५ हजारको अपेक्षामा छौं ।

अब यो मेलाको सफलतालाई तपाईंले कसरी मापन गर्नुहुन्छ ?
हामीले धेरै विश्वविद्यालय ल्याउन सक्यौं, त्यो एउटा सफलताको सूचक हो । गण्डकी प्रदेशमै यो स्तरको शैक्षिक मेला, यो स्तरबाट यो सचेतना हुने गरी गरिएको यो यति ठूलो मेला पनि हो । यहाँ आउने विद्यार्थी–अभिभावकहरू कति धेरै लाभान्वित हुनुहुन्छ, एउटा कुरा त्यसमा पनि जान्छ । र, जस्तो अब टेस्ट तयारीका सिधै प्रतिनिधिहरूदेखि लिएर यहाँका छाता संगठनभित्रका सदस्यदेखि लिएर उहाँहरूले पाउने सन्तुष्टि, प्लस विद्यार्थी–अभिभावकले पाउने सन्तुष्टि नै हाम्रो सफलताको सूचक हो ।

आगामी दिनमा पनि यो मेलालाई निरन्तरता दिने विषयमा के सोच्नुभएको छ ?
यो मेलालाई निरन्तरता दिन्छौं नै । विद्यार्थी र अभिभावकहरू कतिको लाभान्वित हुनुहुन्छ, त्यो हामीले यो वर्षको लागि हेर्दै छौं । दोस्रो कुरा त यो प्रत्येक वर्ष हुने कार्यक्रम पनि हो इक्यानको । अब यसलाई हेरेर र आधार मानेर यसैसँग मिल्ने गरी फेरि अर्को वर्ष अर्को नयाँ हुन नै सक्छ । त्यसैले यो त नियमित प्रक्रिया हो भन्न चाहन्छु ।

Leave A Reply

Your email address will not be published.