पोखरा,
शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौ २० र २१ (शुक्रबार र शनिबार) पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्दैछ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिको प्रस्तुतिमा हुने फेयर पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा हुँदैछ ।
लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न गइरहेको छ । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६५ स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । यसै सन्दर्भमा इक्यान कास्कीका उपाध्यक्ष एवं आठौं इक्यान एजुकेसन फेयरका संयोजक सन्तोष शाही ठकुरीसँग गरिएको कुराकानी:
इक्यान एजुकेसन फेयरको तयारी कहाँसम्म पुगेको छ ?
हामी यतिबेला आठौं इक्यान शैक्षिक मेलाको अन्तिम तयारीमा छौं । हामीले हालसम्म मेलाको लागि प्रायोजकहरूलाई अन्तिम रूप दिइसकेका छौं । त्यस्तै गरी, हामीले विभिन्न सञ्चार माध्यमबाट विद्यार्थी र अभिभावकमा सूचना पु¥याउने काम र स्टलहरूको व्यवस्थापन पनि सम्पन्न गरिसकेका छौं ।

विदेशी कलेज, विश्वविद्यालयका प्रतिनिधिहरू आउने र फरक–फरक स्टलहरू रहने कुरा आएको छ । कति स्टल हुनेछन् र कुन–कुन विश्वविद्यालयका प्रतिनिधिहरू आउनेछन्, यसबारे केही थप जानकारी दिनुहुन्छ कि ?
हामीसँग हाल यो शैक्षिक मेलामा ६५ वटा स्टल रहनेछन् । उक्त स्टलमा केही विदेशी कलेज, विश्वविद्यालयका स्टल र इक्यानका सदस्य संस्थाहरूका स्टल रहनेछन् । तीमध्ये युकेको युनिभर्सिटी अफ वर्केस्टर, योर्क सेन्ट जोन युनिभर्सिटी, त्यसै गरी अस्ट्रेलियाको चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेसन र आईआईई, मोनारो हायर एजुकेसन, सिड्नी स्कुल अफ बिजनेस एन्ड टेक्नोलोजी, द लायन्स इन्स्टिच्युट एईआई जस्ता संस्थाहरू रहनेछन् । त्यसै गरी दुबईको रोयल रोर्स भन्ने कलेज पनि हामीसँग रहेको छ ।
साथै, हामीसँग इक्यानका सदस्य संस्थाहरूले प्रतिनिधित्व गर्ने विश्वविद्यालयहरू पनि हुनेछन्, जसलाई हाम्रा कन्सल्टेन्सी साथीहरूले नै प्रतिनिधित्व गर्नुहुनेछ । कलेज, विश्वविद्यालय र शैक्षिक परामर्श केन्द्रबाहेक हामीले विद्यार्थीहरूलाई वित्तीय जानकारी दिने उद्देश्यले तीनवटा बैंक, जस्तै एभरेस्ट बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंकलाई हाम्रो बैंकिङ साझेदारको रूपमा राखेका छौं । त्यसै गरी, विद्यार्थीहरूलाई आकर्षित गर्न हामीले ‘कोड फर चेन्ज’ भन्ने समूहसँग सहकार्य गरेका छौं, जसले गर्दा विद्यार्थीहरूलाई विभिन्न खेलहरू खेलाएर पुरस्कार वितरण गर्नेछौं ।
यो मेलाबाट लाभ लिन सक्ने लक्षित समूह कुन हो ? मेलामा आउने विद्यार्थीले कुन विषय रोज्ने ?
यो मेला विशेष गरेर १०+२ पास गरेर बसेका विद्यार्थीहरू र स्नातक तह सकेर बसेका विद्यार्थीहरूलाई लक्षित गरिएको हो । कुनै–कुनै विद्यार्थीहरू जस्तै स्नातक तहको अन्तिम सेमेस्टरमा पढिरहेका विद्यार्थीहरू पनि मेलामा आएर अवलोकन गर्न सक्छन् ताकि उनीहरूले अबको छ महिना वा एक वर्षपछि विदेशमा अध्ययनको लागि योजना बनाउन सकून् । विद्यार्थीले आफ्नो रुचिअनुसार विषय रोज्न पाउनेछन् । आफूले १०+२ वा स्नातकमा अध्ययन गरेको विषयको आधारमा उच्च शिक्षाको लागि उनीहरूले आफ्नो रुचिअनुसारका विषयहरू रोज्न पाउँछन् । विभिन्न कलेज र विश्वविद्यालयहरूमा आफूलाई मिल्ने ट्युसन शुल्क, विषय, छात्रवृत्तिलगायतका सबै कुराहरू विचार गरी विद्यार्थीले रोजेर आवेदन दिन सक्छन्।
आवेदन दिने प्रक्रिया ‘अन द स्पट’ पनि हुने हुन्छ कि त्यसपछि परामर्श केन्द्रमै जानुपर्ने हुन्छ ?
केही कलेज र विश्वविद्यालयहरूमा ‘अन द स्पट’ आवेदन दिने पनि व्यवस्था हुन्छ । जस्तै, केही कलेजहरूले त्यहाँ फारम भर्ने वा आवेदन दिनेलाई आवेदन शुल्क मिनाहा गरिदिने गर्छन् । सामान्यतया कलेजहरूले २०० वा २५० डलरसम्म लिन्छन् त्यसलाई वेभ गरिदिन्छन् । त्यसै गरी, आईईएलटीएस, पीटीई जस्ता टेस्ट तयारी कक्षाहरूमा भर्ना हुने विद्यार्थीहरूलाई छात्रवृत्ति पनि दिइन्छ । कसैले ५० प्रतिशत वा कसैले १०० प्रतिशतसम्म छात्रवृत्ति पनि दिन सक्छन् । साथै, शैक्षिक योग्यताका आधारमा कलेज र विश्वविद्यालयहरूले उनीहरूले यति प्रतिशतसम्म छात्रवृत्ति पाउँछन् भनेर त्यहीँ पनि भन्न सक्छन् ।
टाइम्स एजुकेसनल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ । यसले इक्यान र टाइम्स दुबैलाई कसरी फाइदा पु¥याउँछ ?
यो शैक्षिक मेला विशेष गरेर विद्यार्थी–अभिभावकलाई सही सूचना र शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । सँगसँगै अर्को उद्देश्य भनेको हाम्रो इक्यानको सदस्य संस्थाको व्यावसायिक प्रवद्र्धन गर्नु पनि हो । जसले गर्दा इक्यानका सदस्यहरूलाई फाइदा होस् । हाम्रो इक्यान कास्कीकै सदस्य टाइम्स एजुकेसनलले यस वर्षको मेलालाई प्रस्तुतकर्ताको रूपमा प्रस्तुत गर्नुभएको छ र हाम्रा प्रायोजकहरूमध्ये उहाँहरू सबैभन्दा माथि हुनुहुन्छ । हामीले प्रायोजकहरूलाई दिनुपर्ने सुविधाहरू जस्तै उहाँहरूको लोगो हाम्रो इक्यान कास्की एजुकेसनल फेयरको लोगोभन्दा माथि छ । त्यसै गरी, विभिन्न कार्यक्रमहरू गर्दा उहाँहरूलाई अतिथिको रूपमा सम्मान गर्ने, मायाको चिनो दिने र सबै कुरामा प्रायोजकहरूमध्ये उहाँलाई नम्बर एकमा राखेका छौं । यसरी हामीले ब्रान्डिङ गर्दै जाँदा इक्यानको पनि ब्रान्डिङ हुने र टाइम्स एजुकेसनलको पनि सँगसँगै ब्रान्डिङ भइराखेको छ ।
अन्तिममा, यो सेवा त तपाईँहरूले आफ्नो कन्सल्टेन्सीबाट दिइरहनुभएकै छ । अरू बेला कन्सल्टेन्सीमा गएर सेवा लिनु र मेलामा आएर सेवा लिनुमा के फरक हुन्छ ? विद्यार्थीहरूलाई थप के फाइदा हुन्छ ?
यतिबेला पोखराको मात्र होइन, गण्डकी प्रदेशमा मात्र हे¥यो भने पनि १,००० भन्दा बढी कन्सल्टेन्सीहरु छन् । त्यसमध्ये इक्यानका सदस्यहरू मात्र अहिले पोखरामा ६४ पुगेका छन् । त्यसै गरी, नेपाल सरकारको शिक्षा मन्त्रालयको तथ्यांक हे¥यो भने अहिले ७३२ ले नवीकरण गरेको अवस्था छ । हामीले बाहिर बजारमा हे¥यौं भने विभिन्न पत्रपत्रिका, फेसबुकलगायत सामाजिक सञ्जालहरूमा विभिन्न प्रलोभन देखाउने विज्ञापनहरू देख्न सक्छौं ।
विदेशमा पढ्न जानको लागि बुझ्नुपर्दा अरू बेला हरेक कन्सल्टेन्सीहरूमा डुल्नुपर्छ । कुन चाहिँ कन्सल्टेन्सी सही हो, कुनबाट आवेदन दिँदा बढीभन्दा बढी छात्रवृत्ति पाउने सम्भावना हुन्छ, भिसा लाग्ने सम्भावना बढी हुन्छ र आफूलाई सही सूचना प्राप्त गर्नको लागि धेरै ठाउँ डुल्नुपर्छ भने यतिबेला हामी एउटै छानामुनि इक्यानका धेरै सदस्यहरू र विदेशी कलेज, विश्वविद्यालयका प्रतिनिधिहरूलाई भेला गराउँदै छौं । उहाँहरू त्यो एउटै छानामुनि सबै डुलेर, सबै स्टल अवलोकन गरेर अन्तिममा निर्णय गर्न सक्नुहुन्छ कि ‘मेरो लागि यो सही हो, यो कन्सल्टेन्सीले मलाई सबैभन्दा राम्रो विकल्प दियो’ भनेर उहाँले एकै दिनमा, एउटै छानामुनि छनोट गर्न सक्ने हुँदा पनि यो मेला विद्यार्थी–अभिभावकलाई फाइदा हुन्छ जस्तो लाग्छ ।