पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोपछि करिब १० जना आरोही सम्पर्कविहीन भएको घटनाले उच्च हिमाली उद्धारको कठिन यथार्थ फेरि उजागर गरेको छ। खराब मौसम, सीमित हेलिकप्टर र सेनामार्फत सञ्चालन हुने उद्धार प्रणालीका कारण खोज तथा उद्धार अभियान अपेक्षाअनुसार तीव्र हुन नसकेको सरोकारवालाले बताएका छन्।
सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंका अनुसार प्रारम्भिक खोजी स्थलमार्गबाट गरिएको क्रममा दुई शव फेला परेको जानकारी आएको भए पनि उनीहरूको पहिचान हुन बाँकी छ। मौसम प्रतिकूल रहेकाले हेलिकप्टर तत्काल परिचालन गर्न नसक्दा उद्धार अभियान प्रभावित भएको उनले बताए।
ूनेपालमा जस्तो तुरुन्त हेलिकप्टर रेस्क्यु सम्भव हुँदैन। पाकिस्तानमा उद्धार मुख्य रूपमा सेनाले सञ्चालन गर्छ। हेलिकप्टर सीमित छन् र प्रक्रिया पनि लामो हुन्छ। मौसमले साथ नदिएसम्म प्रभावकारी उद्धार गर्न निकै कठिन हुन्छ,ू गुरागाईंले भने।
उनका अनुसार अहिले सबैको ध्यान हेलिकप्टरमार्फत हवाई खोजीमा केन्द्रित छ। माथिबाट घटनास्थलको स्पष्ट अवलोकन हुन सकेपछि मात्रै सम्पर्कविहीन आरोहीहरूको अवस्थाबारे थप जानकारी आउन सक्ने उनले बताए।
ब्रड पिकमा गएको हिमपहिरोमा विभिन्न देशका करिब १० जना आरोही सम्पर्कविहीन छन्। प्रारम्भिक विवरणअनुसार उनीहरूमध्ये सेभेन समिट ट्रेक्सका तीन जना, निर्मल पुर्जा ९निम्स दाई०सँग सम्बन्धित टोलीका तीन जना, इमाजिन नेपालका दुई जना, एक पाकिस्तानी र एक अमेरिकी आरोही रहेका छन्।
सम्पर्कविहीन आरोहीहरू जीवित भेटिने सम्भावनाबारे गुरागाईंले आशा क्रमशः क्षीण हुँदै गएको बताए। ूअब आशा गर्ने ठाउँ निकै साँघुरो भएको छ। सम्भावना अत्यन्तै कम हुँदै गएको छ,ू उनले भने।
उनले पाकिस्तानमा नेपाली कम्पनीहरूको आरोहण तालिका सामान्यतया नाङ्गा पर्वत, ग्यासरब्रुम–२ हुँदै ब्रड पिक र त्यसपछि के–टुतर्फ हुने गरेको जानकारी दिए। तर यस वर्ष प्रतिकूल मौसमका कारण सम्पूर्ण आरोहण सिजन नै ढिलो भएको थियो। यस्तो अवस्थामा आएको हिमपहिरोलाई उनले प्राकृतिक विपत्ति भएको बताए।
चार दशकभन्दा बढी समयदेखि नेपाली शेर्पाहरू पाकिस्तानका हिमालमा सक्रिय रहे पनि हिमपहिरोजस्ता प्राकृतिक जोखिम उच्च हिमाली आरोहणको सबैभन्दा चुनौतीपूर्ण पक्ष रहेको गुरागाईंको भनाइ छ।
उता पाकिस्तानका अधिकारी, अल्पाइन क्लब अफ पाकिस्तान र उद्धार निकायले मौसममा सुधार आउनेबित्तिकै हेलिकप्टरसहित खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाउने तयारी गरिरहेका छन्। हालसम्म सम्पर्कविहीन आरोहीहरूको अवस्थाबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन।