सुचना, समाचार र मनोरन्जन

सरकार फेरबदलको हल्लाको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरबदलको हल्लाको पछि नलाग्न आग्रह गरेका छन ।

शुक्रवार चितवनको इच्छा कामना गाउँपालिकाको प्रशासकीय भवनलाई उद्घाटन गर्दै उहाँले ढुक्कका साथ विकास निर्माणको काममा जुट्न आग्रह गरेका हुन। उनले आफूहरूले नै देशको विकास र देशलाई सुशासनयुक्त बनाउने दाबी गर्दै नेपाललाई समृद्ध देश र सबै नेपालीलाई खुशी बनाउने बताए । उनले आफूहरूको गन्तव्य नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको बताउँदै यसले धेरै कुरा ओगट्ने समेत जिकिर गरे।
प्रधानमन्त्री ओलीले भने, “ढुक्कले विकास निर्माणको काममा जुट्नुस् । हल्लाको पछि लाग्नुपर्ने आवश्यकता छैन । हामीले हाम्रो देश विकसित बनाउने हामीले नै हो । यो देशलाई सुशासनयुक्त बनाउने हामीले नै हो । मैले सधैँ भन्ने गरेको छु, नेपाललाई एउटा समृद्ध देश बनाउनुपर्छ र सबै नेपाली जनतालाई सुखी बनाउनुपर्छ । हाम्रो गन्तव्य त्यहीँ हो, त्यहाँ भन्दा सुखी गन्तव्य अरू केही परिष्कृत, परिमार्जित गन्तव्य छैन । यो धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेको जस्तो हो । समृद्धि नेपाल, सुखी नेपालभित्र धेरै कुरा छन्, त्यसले धेरै कुरा ओगट्छ ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर रहेको र यसले स्थायित्व दिएको बताए । उनले संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन तथा विकास गर्न पुराना इतिहास बोकेका पार्टी नेपाली काँग्रेस र नेकपा एमाले एक भएको दाबी गरे ।
उनले भने, “अहिलेको सरकार हामीले केही भनिरहनुपर्दैन यो स्थिर छ । यसले स्थायित्व दिएको छ र दिनेछ । यो धेरै भनिरहनुपर्दैन, कसले के भन्छ भन्ने कुरा छोडिदिनुस् । नेकपा एमाले र नेपाली काँग्रेस यो देशका सबैभन्दा पुराना, सङ्घर्ष गरेका, योगदान गरेका, बलिदान गरेका, सबैभन्दा ठुला र इतिहास बोकेका पार्टीहरू संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन र देशको विकास गर्न एक भएका हुन् ।”

उनले देशमा सुशासन ल्याउन र विकास गर्न जरुरी रहेकाले आफूहरू एक भएको समेत जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.