सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपालमा हिट भएको फिल्म ‘पुजार सार्की’ युकेका पनि रिलिज 

काठमाडौं :

गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको फिल्म ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ। जुन २१ शुक्रवार रिलिज भएको यो फिल्म युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो।

निर्माण पक्षका अनुसार युकेका सहरहरू बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दम लगायतका ओडियन र सिनेवर्ल्ड हलमा दैनिक रूपमा ‘पुजार सार्की’ हेर्न सकिन्छ। यसरी बक्स अफिसमा नै संसारभरका फिल्महरूसँगै नेपाली फिल्म पनि रिलिज भएको हो।

फिल्मका निर्माता सुबास भुसालले युकेमा नेपाली फिल्मको लागि ‘पुजार सार्की’को रिलिज ऐतिहासिक रहेको बताए।  मिडिया सँगको कुराकानीमा उनले भने,‘हामीले अहिले नेपालसँगै संसारभरका नेपालीहरू रहेका सहरहरूमा ’पुजार सार्की’ विभिन्न तवरबाट प्रदर्शन गरिरहेका छौँ। युकेमा समेत बक्स अफिसमा रिलिज भएको छ, यो नेपाली फिल्मको लागि ऐतिहासिक हो।’

त्यस्तै, संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूमा पनि यो फिल्म  बक्स अफिसमा नै रिलिज भइरहेको उनको भनाई छ। साथै अन्य मुलुकहरूमा पनि फिल्म प्रदर्शन भइरहेको छ। यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ।

दिनेश राउतले निर्देशन गरेको यस फिल्ममा विकास सुवेदीको लेखन रहेको छ भने आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.