पोखरा/
पोखरा-११, कार्की डाँडामा पोखरा इलेक्ट्रिक क्लबको २६औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। “स्वदेशी श्रमको सम्मान गरौं, पूँजी पलायन रोकौं, लगानीको अवसर जुटाऔं” भन्ने मूल उद्देश्य बोकेर २०५६ सालमा स्थापना भएको क्लबले आफ्नो २६ वर्षको यात्रामा विभिन्न उपलब्धिहरू हासिल गर्दै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्री संजीव बाहादुर कोइरालाले प्रमुख आतिथ्यता ग्रहण गरे। विशेष अतिथिका रूपमा क्लबका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद सापकोटा, पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, पत्रकार, तथा क्लबका साधारण सदस्यहरूको उपस्थिति रहेको थियो।

क्लबका अध्यक्ष अमृत पोखरेलले मन्तव्य दिंदै क्लबको गतिविधि, चुनौती, र आगामी योजनाबारे प्रकाश पारे। उनले पोखरा इलेक्ट्रिक क्लबको मूल उद्देश्य र संस्थाको योगदानलाई सम्झिंदै दक्ष जनशक्ति उत्पादन, नयाँ प्रविधि अपनाउने, र स्वदेशी श्रमलाई प्रोत्साहन गर्न आवश्यक पहलका लागि राज्य र स्थानीय निकायसँग सहकार्य आवश्यक रहेको कुरा उल्लेख गरे।
क्लबका महत्वपूर्ण उपलब्धिहरू:
१. दक्ष जनशक्ति उत्पादनमा योगदान: क्लबले आफ्ना सदस्यहरूलाई विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम प्रदान गर्दै आइरहेको छ।
२. गुणस्तरीय विद्युत सेवामा विशेषज्ञता: घर, भवन तथा औद्योगिक संरचनामा गुणस्तरीय विद्युत सेवामा पोखरा इलेक्ट्रिक क्लबले आफ्नो विश्वास बढाएको छ।
३. संवेदनशील क्षेत्रमा योगदान: विद्युत जस्तो संवेदनशील क्षेत्रमा स्वदेशी दक्ष जनशक्ति विकासका लागि क्लबले लगातार पहल गर्दै आएको छ।
क्लबले निर्माण व्यवसायमा देखिएको ढिलासुस्ती, सरकारी बजेट खर्चको न्यून स्तर, र विदेशी श्रमशक्तिको प्रयोगलाई हटाउनुपर्ने आवश्यकता औंल्याएको छ।

अध्यक्ष पोखरेलले मित्रमिलन सहकारीको संकट समाधान गर्न आफ्नो व्यक्तिगत बचन पूरा गर्दै संस्थाको खातामा व्यक्तिगत रकम राखेको उल्लेख गर्दै संस्थाप्रतिको प्रतिबद्धता व्यक्त गरे।
सभामा क्लबका जेष्ठ सदस्य तथा पूर्वअध्यक्ष श्री भीमप्रसाद पौडेल र हरिप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो। साथै, क्लबका सदस्यका परिवारका प्रतिभाशाली सदस्यहरूलाई विशेष बधाई तथा शुभकामना प्रदान गरियो।
प्रमुख अतिथि संजिव बाहादुर कोइरालाले क्लबको योगदानको प्रशंसा गर्दै स्वदेशमै लगानी र दक्ष जनशक्ति निर्माणमा क्लबले खेलेको भूमिकाको उच्च मूल्यांकन गरे। कार्यक्रममा इलेक्ट्रो मेकानिकल संघ नेपालका अध्यक्ष बलभद्र नकर्मीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम महासचिवको धन्यवाद ज्ञापनका साथ समापन भएको थियो ।