सुचना, समाचार र मनोरन्जन

पोखरा-१२ मा रङ र कल्पनाको उत्सव

पोखरा : पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा हिल पोइन्ट स्कुलको सहकार्यमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूमा सिर्जनशीलता, कलात्मक क्षमता तथा रचनात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडा भित्र तथा पोखराका विभिन्न ४३ विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण, सामाजिक सद्भाव, शिक्षा, संस्कृति तथा समसामयिक विषयवस्तुलाई चित्रमार्फत आकर्षक ढङ्गले प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै वडा नं. १२ का अध्यक्ष सन्तोष बास्तोलाले चित्रकलाजस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।

हिल पोइन्ट स्कुलका प्रधानाध्यापक दिवाकर जोशिले विद्यालय र स्थानीय तहबीचको सहकार्यबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो। निर्णायक मण्डल बुद्धि गुरुङ  र अशोक बरालको टिमले चित्रको विषयवस्तु, प्रस्तुति, मौलिकता र सन्देशका आधारमा उत्कृष्ट चित्र छनोट गरेको थियो। विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको वडा सचिव शारदा सापकोटाले बताइन्।

प्रथम स्थान हिल पोइन्ट स्कुलकी युमिका गुरुङले हासिल गरिन भने दोस्रो स्थान ग्लोबल स्कुलकी ओशिका गुरुङले प्राप्त गरिन। त्यसैगरी तेस्रो र सान्त्वना स्थान क्रमशः सोसिएल पब्लिक स्कुलका अर्भिनल गुरुङ र हावर्ड स्कुलका दिपसन विकले हासिल गरे।

कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा कला प्रतिको रुचि अभिवृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.