पोखरा :
पोखरामा आउँदो असोज २४ गते तेस्रो संस्करणको ‘खुला पर्वतीय दौड प्रतियोगिता’ आयोजना हुने भएको छ। पोखरा प्रवर्द्धन केन्द्रको आयोजनामा पोखरा–२२, पुम्दीभुम्दीमा सञ्चालन हुनेछ।
आयोजकले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगितासम्बन्धी विवरण सार्वजनिक गरेको हो। खेल पर्यटनमार्फत ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिए।
प्रतियोगितामा सहभागी हुन चाहने धावकहरूले असोज २१ गते राति १२ बजेसम्म ‘पोखरा क्लिक’ अनलाइनमार्फत नाम दर्ता गराउन सक्नेछन्। हालसम्म १८ जिल्लाका ८० भन्दा बढी धावकले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ।

आठ किलोमिटर दूरीको यो दौड विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर समापन हुनेछ।
प्रतियोगिता खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी कुल छ विधामा सञ्चालन गरिनेछ। खुलातर्फ प्रथम हुने धावकलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीन हजार रुपैयाँका साथै छैटौँदेखि दशौँ स्थानसम्म आउनेलाई जनही एक हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र दिइनेछ।
त्यस्तै वडास्तरीय खुला, महिला तथा यू–१६ विधाका विजेताहरूले क्रमशः १५ हजार, सात हजार र तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विदेशी धावकतर्फ विजेतालाई १५ हजार र उपविजेतालाई सात हजार रुपैयाँ तथा भेट्रानतर्फका विजेतालाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
पत्रकार सम्मेलनमा पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल तथा आयोजक संस्थाका उपाध्यक्ष असफल गौतमले पर्वतीय दौडले पोखराको ग्रामीण खेल पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए। नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको हो।