पोखरा,
भदौ २४ गते देशैभर भएका तोडफोडका घटनाले पोखरा महानगर समेत ठूलो क्षति बेहोर्नु परेको छ । भवन, संरचना र सार्वजनिक सम्पत्तिहरु पूर्ण रूपमा प्रभावित हुँदा आमनागरिक निराश बनेका बेला पोखरा इलेक्ट्रिक क्लबले आशा र उज्यालोको बाटो देखाएको छ ।
पोखरा महानगर वडा नं. १ बगर प्रहरी कार्यालय पुनःनिर्माणका लागि समाजसेवी सिता गुरुङबाट आएको अपिललाई आत्मसात गर्दै क्लबले आज विद्युत् बत्ती बालेर पुनःनिर्माणको अभियानलाई औपचारिक सुरुवात गरेको हो ।
यस अभियानको पहिलो काम बगर प्रहरी कार्यालयमा भएको विद्युत् व्यवस्थापन हो भने त्यसपछि जिल्ला प्रहरी कार्यालय, कास्कीमा समेत विद्युत् जडान गरी सहयोग गरिएको क्लबले जनाएको छ ।
ूसुरक्षा नै जनताको पहिलो प्राथमिकता हो, भन्दै क्लबका अध्यक्ष अमृत पोख्रेलले भने, “देशलाई बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्छ, सहयोग गर्नुपर्छ । यसरी सामूहिक प्रयासबाट मात्र उज्यालो भविष्य सम्भव हुन्छ।”
पोखरा इलेक्ट्रिक क्लबले यसपटकको कदममार्फत देशभरका युवापुस्ता, समाजसेवी, व्यवसायी, र आम नागरिकलाई पुनःनिर्माणमा सहभागी हुन प्रेरणा दिएको छ ।
पोखरेलले भने, तोडफोड र विनाशले होइन, निर्माण, सहयोग र एकताको बाटोले मात्र देशलाई अघि बढाउन सकिन्छ ।
पोखरा इलेक्ट्रिक क्लब परिवारले सम्पूर्ण देशबासीलाई आह्वान गर्दै आफ्नो ठाउँबाट सकेको सहयोग गरौं, हातेमालो गर्दै नयाँ नेपाल निर्माणमा लाग्न आग्रह गरेको छ ।