पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भानुभक्त अधिकारीको उम्मेदवारीको चर्चा सुरु भएको छ। संघको गरिमा, व्यवसायिक मैत्री वातावरण र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै अधिकारी नेतृत्वका लागि अघि बढ्न लाग्नुभएको हो।
पोखराको सामाजिक तथा युवामाझ परिचित अधिकारी स्पष्ट वक्ता, पारदर्शी कार्यशैली र संस्थागत सुशासनका पक्षधरका रूपमा आफ्नो पहिचान बनाउन सफल व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। सामाजिक क्षेत्रमा सक्रिय रहँदै विभिन्न अभियान तथा गतिविधिमा देखाउँदै आएको नेतृत्वदायी भूमिकाले पनि उहाँको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
व्यवसायीका समस्या, उद्योग–व्यवसाय क्षेत्रका चुनौती तथा राज्यका नीति–नियमका कारण व्यवसायीले भोग्नुपरेका समस्यालाई संस्थागत रूपमा उठाउनुपर्ने आवश्यकता बढिरहेका बेला अधिकारीको उम्मेदवारीलाई व्यवसायिक वृत्तमा सकारात्मक रूपमा लिन थालिएको छ।
अधिकारीले पोखरा उद्योग वाणिज्य संघलाई केवल व्यवसायीको हकहितमा आवाज उठाउने संस्थाका रूपमा मात्र नभई व्यवसायिक एकता, सहकार्य, पारदर्शिता र संस्थागत सुशासनको नमुना संस्था बनाउने उद्देश्यसहित अघि बढ्ने बताउनुभएको छ।
पोखराको आर्थिक विकासमा उद्योगी तथा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले व्यवसायमैत्री नीति निर्माणका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्दै आउनुभएको छ। निजी क्षेत्रका समस्या समाधान गर्न सरकार र व्यवसायीबीच विश्वासिलो सम्बन्ध निर्माण गर्नुपर्ने उहाँको जोड छ।
अधिकारीको उम्मेदवारीले पोखरा उद्योग वाणिज्य संघमा नयाँ पुस्ताको नेतृत्व, स्पष्ट दृष्टिकोण र पारदर्शी कार्यशैलीको अपेक्षा बढाएको छ। व्यवसायीबीच आपसी सहकार्य र एकता कायम गर्दै संघको गरिमा अझ उचो बनाउने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेका बेला उहाँको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
व्यवसायीको आवाजलाई संस्थागत रूपमा बलियो बनाउने, संघको गरिमा कायम राख्ने र पोखराको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी बनाउने प्रतिबद्धतासहित अधिकारी अघि बढ्न खोज्नुले उहाँको उम्मेदवारीप्रति व्यवसायिक क्षेत्रमा चासो बढेको छ।