सुचना, समाचार र मनोरन्जन

दुई नेपाली फिल्म ‘पीआर’ र ‘लोकन्ती’ आज एकैदिन देशभर प्रदर्शनमा

काठमाडौँ :

आज शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘पीआर’ र ‘लोकन्ती’ एकैदिन देशभर प्रदर्शनमा आएका छन्। ‘फ्राइडे रिलिज’अन्तर्गत सार्वजनिक भएका यी दुबै फिल्मले फरक विषयवस्तु र कथावाचन लिएर दर्शक आकर्षित गर्ने प्रयास गरेका छन्। तर देशभरका धेरै हलहरूमा पुराना नेपाली तथा विदेशी फिल्म चलिरहेको भएकाले नयाँ दुवै फिल्मलाई पर्याप्त शो भने मिलेको छैन।

‘पीआर’ नेपाली विद्यार्थीले अस्ट्रेलियामा स्थायी आवासीय पत्र (पीआर) लिनका लागि भोग्नुपर्ने संघर्ष र घरपरिवारसँगको भावनात्मक सम्बन्धलाई केन्द्रीत गर्दै निर्देशक शोभित बस्नेतले तयार पारेका छन्। अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकीलगायतको अभिनय रहेको छ। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्की देखिन्छन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् भने वितरण आरआर फिल्म्सले गरेको हो। बुधबार साँझ क्यूएफएक्स सामाखुसीमा आयोजित प्रिमिएरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ।

यस्तै, ‘लोकन्ती’ नेपाली विवाह परम्परामा बेहुलीसँग लोकन्ती राख्ने र केही दिनका लागि माइती पठाउने संस्कारलाई कथा बनाएको फिल्म हो। निर्देशक रञ्जित राना निर्देशित यस चलचित्रमा यसराज, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती र गोविन्द प्रभा मुख्य भूमिकामा छन्।

कृशन फिल्म्सको ब्यानरमा निर्माता सन्तोष न्यौपानेले निर्माण गरेको फिल्ममा लेखन काजी लिम्बु, छायांकन रोनिश तामाङ च्याङ्बा, संगीत विकास चौधरी र सम्पादन गौतमराज खड्काको छ।

Leave A Reply

Your email address will not be published.