काठमाडौँ ।
महानायक राजेश हमालले कुनै पनि पेसामा उच्च परिचय बनाउन इमानदारिता अनिवार्य हुने बताएका छन्। नेपाल पुलिस क्लबमा शुक्रबार किताब जत्राको ‘जिन्दगी र विज्ञापन’ सेसनमा उनले व्यक्तिगत पहिचानभन्दा कर्मलाई प्राथमिकता दिने मानिस आफू भएको बताए।
हमालका अनुसार पुस्तक लेखन कठिन काम भएको छ। निजी जीवन खुलाउन नचाहने स्वभावका कारण पुस्तक तयार गर्न तीन वर्ष लागेको उनले बताए। लेखक योगेशसँग जीवनका संवेदनशील पक्षमा धेरै संवाद भएको उनको भनाइ छ।
उनले पुस्तकमा बाल्यकाल, जीवनअनुभूति, समाजप्रतिको जिम्मेवारी र दृष्टिकोण इमानदारितापूर्वक समेटिएको बताए। जीवनका संवेदनशील प्रसङ्ग लेख्दा विशेष सावधानी अपनाउनु परेको उनले उल्लेख गरे।
संवादका क्रममा हमालले मानिसलाई सबैभन्दा बढी आकर्षण अर्को व्यक्तिको सोच र मूल्यांकन हुने टिप्पणी गर्दै सिर्जनशील व्यक्तिलाई आफ्नै तरिकाले काम गर्ने स्वतन्त्रता आवश्यक रहेको धारणा राखे।