सुचना, समाचार र मनोरन्जन

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

पोखरा,
पोखरा महानगरपालिका वडा नं २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम विहिबार सम्पन्न भएको छ ।  तालिमको समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा।सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गरे।

पछिल्लो पुस्ता विज्ञान र प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिदै कोइरालाले डिजिटलमा आधारित शिपले बेरोजगार नरहने बताए । राज्यले अनुसन्धानको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिदै कोइरालाले अनुसन्धान विनाको योजना कार्यान्वयन हुन नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनु पर्ने बताए । डिन अधिकारी पछिल्लो पुस्ता प्रश्न सोध्ने भन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रबृत्तिका रहेको बताए । समस्यासँग जुध्ने भन्दा पनि भाग्ने प्रकृतिले युवापुस्ता पलायन हुँदै गएको उल्लेख गरे ।

युवा बैज्ञानिक विकल्प ढुंगानाले शिप सिक्ने भन्दा पनि त्यसको निरन्तरता ठुलो कुरा भएको बताए । उनले एउटा उमेर समूहमा जिज्ञासु बन्नेहरुले त्यसलाई निरन्तरता दिए मात्र लक्ष्य प्राप्ती हुने उल्लेख गरे ।

समापन कार्यक्रमका अध्यक्ष समेत रहनु भएका पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्ने उल्लेख गर्दै, वडालाई प्रविधि मैत्री बनाउने गरी योजना शुरु गरिएको बताए ।

अध्यक्ष थापाले युवा पुस्ताले प्रविधिको सिकाईपछि त्यसलाई आय आर्जनको माध्यमका रुपमा विकास गर्नु पर्नेमा जोड दिए । उहाँले वडाले तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे को अवधारणा अनुसार शिपविकासको प्रविधिलाई अगाडी बढाएको बताए ।

कार्यक्रममा पोखरा २६ का वडा सदस्य सुजता बराल सुनार, पोखरा विश्वविद्यालयका आईटी विभाग संयोजक डा. राममणि अधिकारी, कन्टेन क्रियटर मिस गाईडेड नेपाल युटयूव च्यानलका अमृत थापा, लक्ष्मी आदर्श मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारी, पोखरा २६ का सूचना अधिकारी नवराज सापकोटा र कार्यक्रम संयोजक आकार समूहका इन्जिनियर सन्दिप पौडेल लगायतले विज्ञान, प्रविधि र शिप विकासको तालिमले विद्यार्थीलाई नयाँ संभावनासँग जोड्ने बर्ताए । कार्यक्रममा सहभागीहरुले तालिमबाट सिकेका शिपका बारेमा बोलेका थिए ।

४५ दिनसम्म संचालन गरिएको तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाईनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासको तालिममा १८ जना सहभागी रहेका थिए ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तयार गरेको रिमोट कन्ट्रोल रोवटिक्स सिजरबाट रिवन काटेर शुभारंभ गरिएको थियो । साथै विद्यार्थीहरुले तयार पारेका छ वटा रोवटिक्स प्रोजेक्ट, बर्ष भरिका चाड पर्व विशेष दिनको ग्राफिक्स डिजाईन र छोटो डकुमेन्ट्री प्रदर्शनीमा राखिएको थियो ।

तालिममा प्रशिक्षार्थीका रुपमा रहेका विद्यार्थिहरुले पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रविधि प्रतिस्पर्धामा सहभागी भै स्मार्ट कृषि र स्मार्ट डस्ठबिनमा दोश्रो र तेश्रो स्थान हासिल गर्नेलाई वडाध्यक्ष थापाले सम्मान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.