सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री प्रचण्डले गरे पोखराका दुई पत्रकारलाई सम्मान

कास्की :

नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’बाट पोखराका दुई पत्रकार सम्मानित भएका छन्। आइतबार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारद्धय दीपेन्द्र श्रेष्ठ र दिवङ्गत पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त उक्त सम्मान प्रदान गरेका हुन्।

प्रधानमन्त्रीले पत्रकार श्रेष्ठ र दिवङ्गत पौडेलका परिवारजनलाई नगद रु. एक लाख एक हजार एक सय ११ सहित सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए। सोही अवसरमा प्रधानमन्त्रीले पत्रकारद्वयले पोखराबाट नेपाली पत्रकारिता र सामाजिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताए। उनले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति सरकार सँधै प्रतिबद्ध रहेको बताउदै आफ्ना विचार राखेका थिए।

उनले भने,‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ।’

उनले सबै वर्ग क्षेत्रका अलवा समुदायमा पनि आम सञ्चारको पहुँच बढाउने नीतिमा सरकार रहेको बताए। उनले थपे,‘आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।’
उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण गर्ने सरकारको नीति रहेको बताउदै वर्तमान विश्वमा सूचना प्रविधि निर्णायक शक्तिका रुपमा देखा परेको तर्क गरे।

सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकारले मिडिया कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले राज्यको उपेक्षामा मिडिया क्षेत्र परेको भन्दै आमसञ्चार प्रतिष्ठान गठन गर्न गरिएको पटकपटकको माग सुनुवाई नभएको भन्दै त्यसको त्यसको सुनुवाई गर्न प्रधामन्त्रीसामु आग्रह गरे। महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले उक्त सम्मान कोष विसं २०५२ सालमा स्थापना भएको जानकारी दिदै गण्डकी प्रदेशको आमसंचार बिधेयक पास भईसकेको र अब छिट्टै कार्वान्वयनमा लैजानुपर्ने बताए।

दिवङ्गत प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उनका परिवारजनले पुरस्कारको अक्षयकोष स्थापना गरेको हुन्। विसं २०७९ को उक्त सम्मान पाउनुहुने श्रेष्ठ नेपाल पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष एवं एभरेष्ट एमएएमका कार्यकारी निर्देशक रहेका छन्। विसं २०८० को सम्मान प्राप्त गर्ने दिवङ्गत पौडेल महासङ्घको गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहेका थिए। महासङ्घका केन्द्रीयसमेत रहेका पौडेल गत वर्ष विमान दुर्घटनामा परि निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.