काठमाडौं :
प्रदीप शाहीको निर्देशन रहने साइ–फाई जोम्बी थ्रिलर फिल्मको लाइनअप पूरा भएको छ। सोमबार निर्माण पक्षले डान्सर कविता नेपालीलाई फिल्ममा लिएपछि फिल्मका सम्पुर्ण कलाकार अनुबन्ध भएको जानकारी दिएको हो।
यस अघि फिल्ममा प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती अनुबन्ध भइसकेका थिए। सोही क्रममा कविता नेपालीको प्रमुख अभिनय रहने जानकारी निर्माण पक्षले फिल्मको कलाकार टिम पुरा भएको बताएको हो।
निर्माण पक्षका अनुसार फिल्ममा अभिनेत्री दिया पुन विशेष भूमिकामा देखिनेछिन्। यसैगरी नृत्य रियालिटी शो ’बुगी बुगी’को नेपाली संस्करणको प्रथम विजेता कविता नेपालीले यहि फिल्मबाट डेब्यू गर्न लागेकी हुन्। अर्को साता नाम घोषणा गर्ने तयारी रहेको यो फिल्मको निर्देशक शाहीले नै तयार पारेका हुन्।

फिल्ममा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माताका रुपमा रहने छन्। प्रदिपको यो साई–फाई जोम्बी थ्रिलर विधागत हिसाबको पहिलो नेपाली फिल्म रहेको दाबी गरिएको छ। दुई प्रदिपबिचको यो सहकार्यले नेपाली फिल्ममा नयाँ जनराको स्वादले दर्शक बटुल्ने अपेक्षा राखिएको छ।
पछिल्लो समय लगालग सिनेमा साइन गरिरहेका अभिनेता प्रदिपले आफूलाई कलाकारका हिसाबले विविधता दिन लागेको देखिन्छ। ‘प्रकाश’ सिनेमाबाट आफ्नो चक्लेटी छवि छोड्दै भुईंमान्छेको भूमिकामा देखिएका प्रदिपले त्यसयता एकैखाले भन्दा फरक खाले पात्रप्रधान सिनेमाहरुमा ध्यान केन्द्रित गरिरहेका छन्।
यसैगरी निर्देशक प्रदिपले गत वर्ष रिलिज भएको ‘अन्तिम संस्कार’बाट तारिफ बटुले। यो सिनेमा विधागत हिसाबले उनको डेब्यू सिनेमा भन्दा फरक थियो। ‘अन्तिम संस्कार’ बाबुछोराको सम्बन्धमा केन्द्रित सिनेमा थियो भने उनको डेब्यू निर्देशन ‘गोर्खाः बिनिथ द ब्रेभरी’ वार जनरामा बनेको थियो। उनको डेब्यू सिनेमाले अमेजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो।
यसप्रकार निर्देशक र अभिनेताको फरक सिनेमा गर्ने सोचले यो टिमवर्क सम्भव भएको बुझ्न कठिन हुन्न। यो सहकार्यले सफल परिणाम दिने आशा राख्न सकिन्छ। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ।