सुचना, समाचार र मनोरन्जन

प्रकाश सपुतको गीतमा जस्तै फिल्म ‘परदेशी २’को ट्रेलरले रुवायो दर्शक

काठमाडौं :

यही दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परदेशी २’को ट्रेलरले दर्शकको मन जितेको छ। शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरका सम्बादले दर्शकलाई रुवाएको छ। त्यसैले यो फिल्मको ट्रेलर दर्शकमाझ लोकप्रिय र चर्चाको विषय बनेको हो।

नारायण रायमाझी निर्देशित फिल्मको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ । यहि प्रेम, विछोड, उमंग, द्धन्द्ध सबै पक्षको समीश्रण ट्रेलरमा पाइन्छ भने गीतसंगीत पक्षले दर्शकलाई भावुक बनाउन सफल भएको अनुभुति गर्न सकिन्छ। ‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको फिल्म भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ ।

अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्धय प्रशान्त तामाङ र दीलिप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ । ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यसपटक पनि सोही भूमिकामा छन्। राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश, केकी, वर्षा, प्रशान्त र दीलिपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ।

रमेश बिजीले फिल्मको कथा एवं पटकथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो फिल्म हो । उनले केहि दिन अघि ७ वर्ष अघिको कथाको निरन्तरता रहेको बताएका थिए।

चलचित्र उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित मानिएको ‘परदेशी २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.