सुचना, समाचार र मनोरन्जन

‘पुजार सार्की’को जापान शोमा १५०० दर्शक भएको आयोजकको दाबी

काठमाडौं :

प्रदर्शनरत फिल्म ‘पुजार सार्की’ जापानमा पनि शो सम्पन्न भएको छ। जापानमा भएको शोमा एकसाथ १५०० दर्शकले फिल्म हेरेका छन्। आयोजकका अनुसार उक्त फिल्म हेर्न हलमा १५ सयले टिकट काटेका छन्। उक्त शोमा सहभागी हुन नेपालबाट यस फिलमका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए।

नाकानो जेरो हलमा भएको शोमा अभिनेता शाह र लेखक सुवेदीले दर्शकसँगै बसेर फिल्म हेरेको आयोजकले जानकारी दिएको छ। नेपालमा रहदा फिल्म हेर्न नपाएका पलले जापानमा हेरको हुन्। उक्त शो का आयोजक मध्येका एक पत्रकार सचिन आचार्यले ‘आउट अफ कन्ट्रोल’ भिडकासाथ फिल्म चलाइएको बताए। ‘हामीले भिड थाम्नै नसक्ने अवस्था थियो। व्यवस्थापन मिलाउन खोज्दा भिड ‘आउट अफ कन्ट्रोल’ भयो। यो फिल्म र अभिनेता पल शाहको क्रेज देखेर हामी छक्क परेका छौँ। फिल्म पनि निकै राम्रो बनेको रहेछ। यो शो पछि थप ‘इन्क्वायरी’ आइरहेका छन्। जापानमा अन्य चार वटा शो हरू तय भइसकेका छन्,’ यसअघि ‘कबड्डी ४’ फिल्म रिलिज हुँदा पनि लगभग यस्तै भएको सम्झना गर्दै आचार्यले भने ।

उनले थपे,‘तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज गर्दा पनि लगभग यस्तै भएको थियो, तर अहिले जस्तो भने कहिल्यै भएको थिएन। हलको सिट सङ्ख्या १२०० जनाको हो, तर १५०० जना भन्दा धेरै भएपछि उभिएर र भुईँमै बसेर ‘पुजार सार्की’ हेरे। हल व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेपछि १५०० ले नै हेरे।’

मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए। उनी भन्छन्, ‘यहाँ यो चलचित्रको ऐतिहासिक शो सम्पन्न भयो। उत्कृष्ट प्रतिक्रिया पनि पायौँ। पल शाहले निकै भएको रहेछ आफ्नो चलचित्र हलमा नहेरेको। निकै उत्सुक हुनुहुन्थ्यो। चलचित्र हेर्दा उहाँ भाव विह्वल हुनुभयो। उहाँ आफैँले एक गीतमा नृत्य समेत गर्छु भनेर स्टेज चढ्नुभयो। संसारभरका दर्शकले ‘पुजार सार्की’लाई दिएको प्रेमलाई पलले धन्यवाद व्यक्त गर्नुभयो।’

दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा सुबास भुसालले निर्माण गरेको ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्ट हो भने नेपाल वितरक आरआर फिल्मस हो।

आज ‘पुजार सार्की’ रिलिजको पाँचौँ दिन सोमवार पनि काठमाडौं र काठमाडौं बाहिरका उल्लेख्य हलमा दर्शकको चाप देखिएको छ। मङ्गलवार गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा भएकोले यो फिल्मले दर्शकलाई पुनः हलमा फर्काउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.