काठमाडौं :
नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो पहिलो फिल्मकै नाममा पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित विशेष कार्यक्रममा अभिनेता हमाल र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक विमोचन गरे।
पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा आधारित उक्त पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण, सामाजिक र व्यक्तिगत दृष्टिकोण समेटिएका छन्।

हमालका अनुसार, पुस्तकमा राजनीति, धर्म, मनोविज्ञान र समाजप्रतिको दृष्टिकोणसमेत समावेश छन्। उनले भने, “यो पुस्तक मेरो जीवनका विभिन्न चरण, सोच र अनुभवको प्रतिबिम्ब हो। चलचित्र ‘युगदेखि युगसम्म’ले मेरो अभिनय यात्रा सुरु गर्यो, पुस्तक ‘युगदेखि युगसम्म’ले मेरो जीवनयात्रालाई समेट्ने प्रयास गरेको छ।”
हमालले यो पुस्तक तयार गर्न करिब तीन वर्ष लागेको जानकारी दिए। पुस्तक प्रकाशन गृह फाइन प्रिन्टले बजारमा ल्याएको हो।
राजेश हमालले सन् १९८८ मा प्रदर्शित फिल्म ‘युगदेखि युगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए। अब त्यसै नाममा पुस्तक ल्याएर उनले आफ्नो जीवनको पहिलो र हालको अध्यायबीच प्रतीकात्मक जोड दिएका छन्।
चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताएका हमालको यो कृति नेपाली फिल्म इतिहाससँगै उनको व्यक्तिगत दर्शन बुझ्न खोज्नेहरूका लागि रोचक पाठ्य सामग्री बन्ने अपेक्षा गरिएको छ।