काठमाडौं :
नेपाल ग्रामीण फिल्म महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ। यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन्। जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ।
विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिनेछ। पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।
दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए। महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। गोसाईकुण्ड गाउँ पालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि बैशाख २ गते देखि ६ गते सम्म हुनेछ।
रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिसेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ।